काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा विवाद र कालापानीको विषयमा मौन बसेको आरोप लगाएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आङ्देम्बेले भारतको राजधानी नयाँ दिल्लीमा भएको उच्चस्तरीय भेटघाटका क्रममा लामिछानेले राष्ट्रिय हितसँग जोडिएका संवेदनशील विषय उठाउन नसकेको टिप्पणी गरे।

advertisement

सीमा समस्याबारे कूटनीतिक ढंगले संवाद हुनुपर्ने लामिछानेको भनाइप्रति संकेत गर्दै उनले दिल्लीमा रहँदा सीमा विवादबारे कुनै स्पष्ट धारणा नराखिएको प्रश्न उठाए।

‘उहाँले सीमा सम्बन्धी विषय ढोल बजाएर समाधान हुँदैन भन्नुभएको छ। त्यो कुरा सही हुन सक्छ। तर, दिल्लीमा रहँदा सीमा विवादको “स” र कालापानीको “क” समेत उच्चारण नगरी किन फर्किनुभयो ?’ आङ्देम्बेले प्रश्न गरे।

उनले नेपाल–भारत सीमा विवादजस्ता राष्ट्रिय सरोकारका विषयमा राजनीतिक नेतृत्वले स्पष्ट र दृढ धारणा राख्नुपर्ने उल्लेख गर्दै विदेश भ्रमणका क्रममा पनि राष्ट्रिय हितका मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने बताए।

आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिबारे उठेको विवादमा समेत टिप्पणी गर्दै त्यस विषयमा प्रधानमन्त्री स्वयंले जवाफ दिनुपर्ने धारणा राखे। प्रधानमन्त्रीको भनाइबारे संसद्मा परराष्ट्रमन्त्रीले स्पष्टीकरण दिएकोप्रति उनले असन्तुष्टि व्यक्त गरे।

उनका अनुसार प्रधानमन्त्रीसँग सम्बन्धित विषयमा संसद्मा उठेका प्रश्नको जवाफ सरकार प्रमुख स्वयंले दिनु नै संसदीय उत्तरदायित्वको मूल मर्म हो।

प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com