काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्रीले संसद्मा दिएको विवादित अभिव्यक्ति फिर्ता नलिएसम्म संसद्को अवरोध अन्त्य हुन नसक्ने बताएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले संसद्मा देखिएको वर्तमान राजनीतिक संकटको समाधान प्रधानमन्त्रीकै हातमा रहेको दाबी गरे। प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट दिएको अभिव्यक्ति इतिहाससँग मेल नखाने र तथ्यगत रूपमा गलत रहेको स्वीकार गरेमा समस्या समाधानको बाटो खुल्ने उनले बताए।

advertisement

रामबहादुर थापा ले प्रधानमन्त्रीले नेपालले भारतका धेरै भूभाग मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसलाई ऐतिहासिक तथ्यसँग नमिल्ने टिप्पणी गरे। प्रधानमन्त्री स्वयं संसद्मा आएर उक्त अभिव्यक्ति आफ्नो भूल भएको स्वीकार गरे संसद्मा देखिएको गतिरोध अन्त्य हुन सक्ने उनको भनाइ थियो।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिले पनि प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन आग्रह गरेमा समाधानको अर्को विकल्प बन्न सक्ने बताए। प्रधानमन्त्रीको भनाइ राष्ट्रहितविपरीत र तथ्यहीन रहेको भन्दै त्यसलाई सच्याउन आवश्यक रहेको उनको धारणा थियो।

सांसद थापाले सभामुखले पनि प्रधानमन्त्रीको विवादित अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउने निर्णय गरे वर्तमान संकट समाधान हुन सक्ने बताए।

उनले आफूहरू विगत एक सातादेखि प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर आफ्नो अभिव्यक्ति सच्याउन र गल्ती स्वीकार गर्नुपर्ने माग गर्दै आएको उल्लेख गरे।

एमालेले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद्मा निरन्तर विरोध जनाइरहेको छ। थापाले संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com