काठमाडौं। चलचित्र समीक्षा र चलचित्र पत्रकारिता लाई अझ जिम्मेवार, व्यावसायिक तथा गुणस्तरीय बनाउने उद्देश्यसहित आयोजित तीनदिने ‘चलचित्र समीक्षा तथा चलचित्र पत्रकारिता’ तालिम सम्पन्न भएको छ। आइडिया ग्रोभको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहकार्यमा अनामनगरस्थित सिलौटो कटेजमा जेठ २५ देखि २७ गतेसम्म सञ्चालन गरिएको तालिममा विभिन्न सञ्चारमाध्यममा आबद्ध २५ जना पत्रकारहरूको सहभागिता रहेको थियो।
तालिमको पहिलो र दोस्रो दिन प्रशिक्षक राजेश गोङ्गजुले चलचित्र साक्षरता (सिनेमा लिटरेसी) केन्द्रित विषयवस्तुमाथि विस्तृत सहजीकरण गरेका थिए। उनले विश्व चलचित्रको इतिहास, चलचित्रको विकासक्रम, सिनेमाको सामाजिक तथा सांस्कृतिक प्रभाव, चलचित्रका आधारभूत तत्त्व, सहानुभूतिमाथिको प्रभाव, चलचित्र हेर्ने र विश्लेषण गर्ने विधिलगायत विषयमा गहन प्रशिक्षण दिएका थिए।
गोङ्गजुले नेपाली चलचित्रको इतिहास, वर्तमान अवस्था, सबल पक्ष, कमजोरी तथा भविष्यका सम्भावनाबारे समेत विश्लेषणात्मक प्रस्तुति दिएका थिए। प्रशिक्षणका क्रममा सहभागी पत्रकारहरूसँग प्रश्नोत्तर, प्रत्यक्ष अन्तरक्रिया र विचार आदानप्रदानलाई विशेष प्राथमिकता दिइएको थियो। चलचित्रलाई केवल मनोरञ्जनको माध्यमका रूपमा नभई समाज, संस्कृति र चेतनासँग जोडिएको अध्ययनको विषयका रूपमा बुझ्नुपर्ने धारणा उनले राखेका थिए।
तालिमको तेस्रो दिन वरिष्ठ पत्रकार अखण्ड भण्डारीले पत्रकारिता तथा चलचित्र पत्रकारितामा भाषाको महत्वबारे प्रशिक्षण दिएका थिए। उनले प्रभावकारी, सरल र आकर्षक भाषा प्रयोगको आवश्यकता औँल्याउँदै ‘मिठो भाषा’ कसरी लेख्ने भन्ने विषयमा व्यावहारिक सुझाव प्रस्तुत गरे। समीक्षा लेखनमा मौलिकताको महत्वबारे चर्चा गर्दै उनले साहित्यिक चोरी (प्लेगरिज्म) बाट जोगिनुपर्नेमा जोड दिए।
भण्डारीले चलचित्र समीक्षा प्रचार वा प्रशंसाको माध्यम नभई समालोचना र विश्लेषणको प्रक्रिया भएको स्पष्ट पार्दै तथ्य, तर्क र कलात्मक मूल्याङ्कनका आधारमा समीक्षा लेख्नुपर्ने धारणा राखे। उनले पत्रकारहरूलाई स्वतन्त्र, निष्पक्ष र जिम्मेवार समीक्षा संस्कृतिको विकास गर्न आग्रह गरेका थिए।
अन्तिम सत्रमा प्रशिक्षक शन्तराम बिडारीले ‘चलचित्र पत्रकारिताको व्यावसायिक अभ्यास, आचारसंहिता, समसामयिक चुनौती तथा अवसर’ विषयमा केन्द्रित रहेर विस्तृत छलफल र विश्लेषण गरेका थिए। चलचित्र पत्रकारितामा देखिएका अवसर र चुनौती, डिजिटल माध्यमको प्रभाव, पत्रकारिताको नैतिकता तथा व्यावसायिक मापदण्डबारे उनले गहन प्रस्तुति दिएका थिए।
तालिमभर सहभागी पत्रकारहरूले उच्च चासोका साथ सक्रिय सहभागिता जनाएका थिए। अन्तरक्रियात्मक शैलीमा सञ्चालन गरिएको प्रशिक्षणले चलचित्र समीक्षा, चलचित्र साक्षरता तथा व्यावसायिक चलचित्र पत्रकारिताबारे नयाँ ज्ञान, दृष्टिकोण र विचार प्राप्त भएको सहभागीहरूको भनाइ थियो।
सहभागीहरूले यस्ता कार्यक्रम चलचित्र पत्रकारिताको गुणस्तर अभिवृद्धिका लागि अत्यन्त उपयोगी भएको उल्लेख गर्दै आगामी दिनमा अझ लामो अवधि र गहिराइमा आधारित तालिम सञ्चालन गरिए थप प्रभावकारी हुने प्रतिक्रिया दिएका थिए।
समापन समारोहलाई सम्बोधन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपाली चलचित्र क्षेत्रको विकासमा पत्रकारिताको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। स्वस्थ समीक्षा, तथ्यपरक पत्रकारिता र आलोचनात्मक चेतनाले नेपाली चलचित्र उद्योगलाई थप सशक्त बनाउन योगदान पुग्ने उनको भनाइ थियो।
अध्यक्ष डिसीले भविष्यमा पनि चलचित्र पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि बोर्डले आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।
प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया