काठमाडौं । प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको सामान्य छलफल सुरु भएको छ। केही दिनदेखि अवरुद्ध संसद् परराष्ट्रमन्त्री शिशिर खनालको स्पष्टीकरणपछि सञ्चालनमा आएसँगै बजेटमाथिको सैद्धान्तिक छलफल अघि बढेको हो।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ १५ गते संघीय संसद्मा प्रस्तुत गरेको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि बुधबारदेखि सांसदहरूले आफ्नो धारणा राख्न थालेका छन्।

advertisement

यसअघि निर्धारित कार्यतालिका अनुसार जेठ १८, १९ र २० गते बजेटमाथि छलफल हुने तय भएको थियो। तर, जेठ १७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी प्रसंगमा दिएको अभिव्यक्तिपछि विपक्षी दलहरूले लगातार सदन अवरोध गर्दै आएका थिए।

प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको भूमि उपयोग गरेको रहेछ’ भन्ने आशयको टिप्पणी गरेपछि त्यसलाई लिएर संसद्मा विवाद उत्पन्न भएको थियो। विपक्षी दलहरूले उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीबाट स्पष्ट जवाफको माग गरेका थिए।

बुधबारको बैठकमा परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्रीको भनाइ सीमा क्षेत्रमा देखिने ‘क्रस बोर्डर अकुपेसन’ अर्थात् सीमापार भूमि उपयोगको सन्दर्भमा आएको भन्दै सरकारको धारणा स्पष्ट पारे। त्यसपछि विपक्षी दलहरूले सदनको अवरोध हटाएका थिए।

यद्यपि, विपक्षी दलहरूले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति प्रतिनिधिसभाको अभिलेखबाट हटाउनुपर्ने माग भने यथावत् राखेका छन्। उनीहरूको तर्क छ कि राष्ट्रियता र सीमा जस्ता संवेदनशील विषयमा सरकार प्रमुखले दिएको विवादास्पद टिप्पणी संसद्को रेकर्डमा रहनु उपयुक्त हुँदैन।

यसैबीच, बजेटमाथिको छलफल सुरु हुनुअघि केही समय सदन तनावग्रस्त बनेको थियो। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले बोल्न समय माग गरे पनि कार्यसूचीअनुसार समय नटिपिएको भन्दै सभामुख डोलप्रसाद अर्यालले तत्काल समय दिन अस्वीकार गरेका थिए।

त्यसपछि श्रम संस्कृति पार्टीका सांसदहरूले सभाको ‘वेल’ घेराउ गर्दै विरोध जनाएका थिए। सभामुख अर्यालले सांसदहरूलाई आफ्नो स्थानमा फर्केर मर्यादित ढंगले प्रस्तुत हुन आग्रह गर्दै त्यसपछि मात्र बोल्ने अवसर उपलब्ध गराउने अडान लिएपछि अवस्था सामान्य बनेको थियो।

पछि हर्क साम्पाङले रोष्ट्रममा पुगेर आफ्ना धारणा राखेपछि सभामुखले कार्यसूचीअनुसार बजेटमाथिको सामान्य छलफल अगाडि बढाएका हुन्।

अब प्रतिनिधिसभामा अर्थमन्त्री वाग्लेले प्रस्तुत गरेको बजेटमाथि सांसदहरूले क्रमशः आफ्ना धारणा, सुझाव र आलोचना प्रस्तुत गर्ने प्रक्रिया सुरु भएको छ।

प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com