काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले अनुसन्धान र नवप्रवर्तन क्षेत्रलाई संस्थागत र प्रभावकारी बनाउन कानुनी तथा संरचनागत आधार निर्माणको काम अघि बढाइएको बताएका छन्।
मन्त्रालयको नेतृत्व सम्हालेपछि पहिलो चरणमै विज्ञान, प्रविधि तथा नवप्रवर्तन ऐन ल्याउन विधेयक तयारी गर्ने निर्णय गरिएको उनले जानकारी दिएका छन्। उनले मन्त्रालयलाई शून्य अवस्थाबाट सञ्चालन गर्नुपरेकाले आधारभूत संरचना, कानुनी व्यवस्था र कार्यप्रणाली निर्माणलाई प्राथमिकतामा राखिएको उल्लेख गरे।
मन्त्री पुनका अनुसार हाल विभिन्न निकायमा छरिएर रहेका अनुसन्धान, प्रविधि विकास तथा नवप्रवर्तनसम्बन्धी कार्यक्रमलाई एकीकृत गरी प्रभावकारी बनाउन तत्काल छलफल सुरु गरिएको छ। उनका अनुसार समन्वय अभावका कारण अपेक्षित परिणाम आउन नसकेको अवस्था रहेकाले उपलब्ध स्रोत र जनशक्तिको अधिकतम उपयोगमा जोड दिइनेछ।
त्यसैगरी मन्त्रालय सञ्चालनका लागि आवश्यक जनशक्ति, दरबन्दी संरचना र कार्यप्रवाह निर्धारण गर्न विस्तृत अध्ययन गर्ने तयारी पनि गरिएको छ। कुन प्रकारका विज्ञता आवश्यक पर्छन् र सेवा प्रवाह कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा अध्ययन अघि बढाइने मन्त्री पुनले बताएका छन्।
नेपालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रलाई आर्थिक विकास र रोजगारी सिर्जनासँग जोड्ने बहस लामो समयदेखि हुँदै आएको भए पनि अनुसन्धान तथा विकासमा न्यून लगानी, संस्थागत समन्वयको अभाव र स्पष्ट नीतिगत संरचनाको कमी प्रमुख चुनौतीका रूपमा रहेका छन्।
नवगठित मन्त्रालयले अनुसन्धान, स्टार्टअप प्रवर्द्धन, डिजिटल रूपान्तरण र प्रविधि हस्तान्तरणजस्ता क्षेत्रमा दीर्घकालीन नीति निर्माण गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार













प्रतिक्रिया