काठमाडौं। रुपन्देहीको बुटवलस्थित अमरपथमा रहेको ‘तिनाउ सुनचाँदी पसल’ मा भएको भनिएको ठूलो डकैती प्रकरण अन्ततः योजनाबद्ध नाटक भएको तथ्य खुलेको छ। चोर खोज्दै अनुसन्धान अघि बढाउँदा पसल सञ्चालक नै सवा करोड रुपैयाँ हडप्ने उद्देश्यले घटना रचेको खुलासा भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पसलमा करिब १ करोड ४६ लाख ९४ हजार रुपैयाँ बराबरको सुनचाँदी चोरी भएको भन्दै उजुरी दर्ता गरिएको थियो। तर जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त अनुसन्धानले यो घटना बीमा रकम दाबी गर्न र ग्राहकका धितो सुन पचाउने योजनासहितको प्रपञ्च भएको निष्कर्ष निकालेको हो।

advertisement

अनुसन्धानका क्रममा पसल सञ्चालक ४१ वर्षीय दीपक विक (सेन्चुरी) र उनका सहयोगी ४७ वर्षीय नवीन विक नै घटनाको मुख्य योजनाकार रहेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सीसीटीभी फुटेज र प्राविधिक जाँचका आधारमा उनीहरू मध्यरातमा ‘मास्टर की’ प्रयोग गरी आफ्नै पसलभित्र प्रवेश गरेको र सुनचाँदीका गरगहना झोलामा राखेर बाहिर निस्किएको देखिएको छ। पछि बाहिरबाट चोरी भएको देखाउन नक्कली चाबीहरू छरिएको पाइएको अनुसन्धानमा उल्लेख छ।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर ‘अपराधिक विश्वासघात’ सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। साथै पसलबाट गायब गरिएका बाँकी गरगहना कहाँ लुकाइएको छ भन्नेबारे पनि खोजी जारी रहेको जनाएको छ।

 

प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com