काठमाडौं। नेकपा एमालेकी सांसद निता घतानी ले जातीय विभेद का कारण दिपा नेपाली ५४ दिनदेखि सडकमा सत्याग्रह बस्न बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले जातीय विभेदका पीडित नागरिकले न्याय नपाएको र राज्य मौन दर्शक बनेको आरोप लगाइन्। सांसद घतानीले सत्याग्रहमा बसिरहेकी दिपा नेपालीलाई तत्काल वार्तामा बोलाएर उनका माग सम्बोधन गर्न सरकारसँग माग गरिन्।
उनले जातीय विभेदविरुद्धका कानुन कागजमा मात्र सीमित रहेको भन्दै व्यवहारमा कार्यान्वयन नहुनु राज्यको कमजोरी भएको टिप्पणी गरिन्। उनका अनुसार नागरिक सडकमा सत्याग्रह गर्न बाध्य हुनु र संसदमा बारम्बार आवाज उठ्नुपर्ने अवस्था सुशासनको असफलता हो।
घतानीले भनिन्, ‘कानुन बनेका छन् तर कागजमा अधिकार र व्यवहारमा विभेद कायम रहनु राज्यको कमजोरी हो।’ उनले सरकारलाई मौन नबस्न आग्रह गर्दै दिपा नेपालीका माग तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिइन्।
उनले थप भनिन्, सरकार नागरिकको पीडा नदेख्ने अवस्थामा पुगेको हो भने त्यो गम्भीर असफलता हुने उल्लेख गरिन्।
प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार













प्रतिक्रिया