काठमाडौं। गृहमन्त्री सुधन गुरुङ ले गृह मन्त्रालयमा बजेट अभाव रहेको भन्दै बजेट वृद्धि गर्न संसदमार्फत पहल गरिदिन सांसदहरूलाई आग्रह गरेका छन्।
राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा बोल्दै मन्त्री गुरुङले स्रोत–साधनको कमीका कारण मन्त्रालयले अपेक्षाअनुसार प्रभावकारी काम गर्न नसकेको बताए। उनले पर्याप्त बजेट नहुँदा सुरक्षा तथा जनहितसँग सम्बन्धित कार्यक्रमहरू प्रभावित भएको उल्लेख गरे।
मन्त्री गुरुङले सांसदहरूको आवाज प्रभावकारी हुने भन्दै मन्त्रालयलाई आवश्यक बजेट उपलब्ध गराउन संसदमा विषय उठाइदिन आग्रह गरे। उनले भने, “अहिले हामीसँग बजेट छैन। हजुरहरूले संसदमा एकपटक पहल गरिदिनुभयो भने बजेट थपिन्थ्यो कि भन्ने आशा छ। मन्त्री आफैं पीडित छ, मन्त्रालयलाई न्याय दिनुपर्यो भनेर बोलिदिनुस्।”
उनले गृह मन्त्रालयलाई प्रभावकारी रूपमा सञ्चालन गर्न थप बजेट आवश्यक रहेको बताउँदै सरकारको प्राथमिकताअनुसार सुरक्षा र सेवा प्रवाहका कामलाई सुदृढ बनाउनुपर्ने धारणा राखे।
प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार












प्रतिक्रिया