जेनेभा। संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले विश्वभर द्वन्द्व, हिंसा, मानवअधिकार उल्लङ्घन र उत्पीडनका कारण कम्तीमा ११ करोड ७८ लाख मानिस जबरजस्ती विस्थापित भएको जनाएको छ। यो तथ्यांकअनुसार विश्वका प्रत्येक ७० जनामध्ये एक जना विस्थापनको अवस्थामा छन्।
प्रतिवेदनअनुसार पछिल्लो १० वर्षमा पहिलो पटक जबरजस्ती विस्थापनको कुल संख्या केही घटेको देखिए पनि ठूला संकटबाट प्रभावित शरणार्थी र आन्तरिक विस्थापितहरू घर फर्किन थालेकाले यस्तो सुधार देखिएको हो।
यूएनएचसीआरका अनुसार सन् २०२५ सम्म विश्वका शरणार्थीमध्ये ७२ प्रतिशत केवल सात देशबाट आएका छन्। ती देशहरूमा भेनेजुएला, प्यालेस्टाइन, युक्रेन, सिरिया, अफगानिस्तान, सुडान र दक्षिण सुडान पर्छन्।
प्रतिवेदनले करिब २ करोड ८५ लाख शरणार्थी यूएनएचसीआरको संरक्षणमा रहेको, ९० लाख मानिस आश्रय खोजिरहेका अवस्थामा रहेको तथा ६ करोडभन्दा बढी आन्तरिक रूपमा विस्थापित रहेको उल्लेख गरेको छ।
त्यस्तै, विश्वका शरणार्थीमध्ये ठूलो हिस्सा कोलम्बिया, जर्मनी, टर्किए, युगान्डा, इरान, चाड र पाकिस्तानजस्ता देशहरूले आश्रय दिइरहेका छन्।
यूएनएचसीआरले द्वन्द्वग्रस्त क्षेत्रबाट हुने विस्थापन अझै जटिल बन्दै गएको चेतावनी दिँदै सुरक्षित र दीर्घकालीन समाधानका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको जनाएको छ।
प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार













प्रतिक्रिया