काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ भइरहेका बेला पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित छ जनालाई अदालतमा बयानका लागि झिकाउन माग गर्दै जिल्ला अदालत काठमाडौँमा निवेदन दर्ता गरिएको छ।

अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत) ले बिहीबार दर्ता गरेको निवेदनमा पूर्वप्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, नेपाली कांग्रेस नेतृ आरजु राणा देउवा, मञ्जु खाँण तथा राजेश बज्राचार्यलाई बयानका लागि बोलाउन माग गरिएको छ।

advertisement

अधिवक्ता नेपालका अनुसार ती व्यक्तिहरूसँग सम्बन्धित भनिएका अडियो अभिव्यक्ति, भिडियो सामग्री तथा अन्य प्रमाणहरू मिसिलमा संलग्न गरी अदालतसमक्ष पेस गरिएको छ। उक्त निवेदनमाथि केन्द्रित भएर शुक्रबार बहस हुने तयारी रहेको उनले बताए।

जिल्ला न्यायाधीश तेजबहादुर खड्काको इजलासमा बुधबारदेखि नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको अन्तिम चरणको सुनुवाइ सुरु भएको छ। अभियोगपत्रमा सङ्गठित गिरोहको योजनाअनुसार नेपाली नागरिकलाई नक्कली कागजात तयार गरी भुटानी शरणार्थीका रूपमा प्रस्तुत गरिएको आरोप लगाइएको छ।

सङ्गठित अपराध, किर्ते, ठगी तथा राज्यविरुद्धको अपराधसहित पाँच विभिन्न अभियोगमा दायर मुद्दाको सुनुवाइ करिब तीन वर्षपछि जिल्ला अदालतमा अगाडि बढेको हो।

यस प्रकरणमा २०८० जेठ १० गते पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरिएको थियो।

उनीहरूमाथि किर्ते, ठगी, सङ्गठित अपराध तथा राज्यविरुद्धको अपराधसम्बन्धी कसुरमा अभियोजन गरिएको छ।

प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com