काठमाडौं । व्यावसायिक प्रयोजनका लागि बैंकहरूबाट लिइएको कर्जा रकमलाई व्यक्तिगत तथा सेयर लगानीमा प्रयोग गरेको आरोपमा जगदम्बा स्टिल्स लिमिटेडका अध्यक्ष साहिल अग्रवालसहित चार जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ।
सरकारी वकिल कार्यालयले उच्च अदालत पाटनको वाणिज्य इजलासमा दायर गरेको अभियोगपत्रमा जगदम्बा स्टिल्सका अध्यक्ष साहिल अग्रवाल, खाता सञ्चालक सुलभ अग्रवाल र शंकरलाल अग्रवाल तथा इन्फिनिटी होल्डिङ्सका सञ्चालक दीपक भट्टलाई प्रतिवादी बनाइएको छ।
अभियोगपत्रमा प्रतिवादीहरूबाट ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो असुल गर्न माग गरिएको छ। उनीहरूमाथि बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गत मुद्दा चलाइएको हो।
सरकारी वकिलले बैंकिङ कसूर तथा सजाय ऐनको दफा ५ र ८ अनुसार कसूर गरेको आरोप लगाउँदै दफा १५(२)(ङ) बमोजिम बिगो असुल, सोही बराबर जरिवाना तथा ६ देखि ८ वर्षसम्म कैद सजायको माग गरेको छ। प्रतिवादी शंकरलाल अग्रवाललाई मतियारको रूपमा मुख्य अभियुक्तलाई हुने सजायको आधा सजायको माग गरिएको छ।
अभियोगपत्रमा यस प्रकरणसँग सम्पत्ति शुद्धीकरणको आशंका समेत जोडिएको उल्लेख गरिएको छ। दीपक भट्ट र सुलभ अग्रवालमाथि सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत छुट्टै अनुसन्धान जारी रहेको जनाइएको छ। साहिल अग्रवाल र शंकरलाल अग्रवाल हाल फरार रहेको भन्दै उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गर्न अदालतसँग माग गरिएको छ।
नेपाल राष्ट्र बैंक तथा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनअनुसार जगदम्बा स्टिल्सले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबीआई बैंक, कुमारी बैंक, एभरेष्ट बैंक र कृषि विकास बैंकलगायत वित्तीय संस्थाबाट चालु पूँजी कर्जा (वर्किङ क्यापिटल लोन) प्राप्त गरेको थियो।
अनुसन्धानका क्रममा उद्योग सञ्चालन तथा कच्चा पदार्थ खरिदका लागि लिइएको उक्त कर्जा रकम नक्कली जग्गा खरिद सम्झौताको आधार देखाएर व्यवसायी दीपक भट्टको व्यक्तिगत खातामा स्थानान्तरण गरिएको आरोप लगाइएको छ।
अभियोगपत्रमा उल्लेख भएअनुसार भट्टको खातामा पुगेको रकम पछि उनको स्वामित्वमा रहेको इन्फिनिटी होल्डिङ्समा सारिएको थियो। उक्त रकम हिमालयन रि–इन्सुरेन्स लिमिटेडको संस्थापक सेयर खरिदमा प्रयोग गरिएको दाबी गरिएको छ।
अनुसन्धानबाट प्रतिवादीहरूले बैंक तथा नियामक निकायलाई भ्रममा पार्न करिब तीन वर्षसम्म उक्त रकमलाई जग्गा खरिदका लागि दिइएको अग्रिम भुक्तानीका रूपमा वित्तीय विवरणमा देखाएको आरोप छ। तर, वास्तविक रूपमा कुनै जग्गा खरिद–बिक्री नभएको अभियोगपत्रमा उल्लेख गरिएको छ।
यसैगरी, कर्जा रकमको वास्तविक प्रयोग लुकाउन विभिन्न व्यक्ति तथा कम्पनीका बैंक खातामार्फत रकम घुमाइएको र जगदम्बा स्टिल्सलाई बैंकबाट प्राप्त रकम व्यक्तिगत हितमा प्रयोग गर्न ‘फन्ड च्यानल’ का रूपमा प्रयोग गरिएको दाबी अभियोजन पक्षको छ।
प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार













प्रतिक्रिया