काठमाडौं । ललितपुरको कुपण्डोलस्थित ग्रीनविच होटल र समिट होटलबीचको विवादको विषयमा ग्लोबल नागरिकको रिसर्च टिमले गरेको अनुसन्धानले नयाँ तथ्य फेला पारेको छ। यससँगै, ग्रीनविच होटल र समिट होटलबीचको विवादले अहिले नयाँ मोड लिएको छ।

ग्रीनविच होटलका संचालक आशुतोष आचार्यले सामाजिक संजाल मार्फत आफू अन्यायमा परेको दाबी गर्दै भिडियो सार्वजनिक गरेसँगै बास्तबिकता बुझ्न ग्लोबल नागरिक टोली ग्रीनवीच होटल पुगेको थियो। त्यहाँ पुग्दा संचालकहरुसँग भेट हुन सकेन् भने हामीलाई उक्त होटलको अवलोकन गर्न समेत अस्विकार गरिएको थियो। त्यसपस्चात हामीले सम्बन्धित आशुतोष आचार्यको सम्पर्क नम्बर माग्दा सम्पर्क नम्बर दिन पनि अस्वीकार गरियो। त्यससँगै हामिले हाम्रो सम्पर्क नम्बर छोडी सम्पर्कमा आउन आह्वान गरेका थियौं।

advertisement

त्यसको केही दिनसम्म पनि सम्पर्कमा नआएपछि पुन: ग्रीनवीच होटल पुग्दा क्षेती भएको भवनको तस्बिर र भिडिओ नखिच्ने सर्तमा होटलका कर्मचारी  सरोज कार्कीले देखाउन तयार भए, तर सम्बन्धि आशुतोष आचार्यसँग भेट हुन सकेन्। त्यससँगै पुन: हाम्रो टोली तेस्रो पटक ग्रीनविच होटल पुग्दा होटल संचालकहरु हतारमा छौँ भन्दै प्रतिक्रिया नदिई होटलबाट बाहिरिए ।

तीन वर्षको अवधिमा झण्डै १० करोड रुपैयाँ बुझिसकेको पक्षबाट अझै पनि “क्षतिपूर्ति पाएका छैनौं” भन्ने भाष्य निर्माण गरिनु वास्तविक पीडाभन्दा पनि ‘व्यापार नगरी क्षतिपूर्तिबाटै आम्दानी गर्ने रणनीति त होइन ?’ भन्ने प्रश्नलाई थप बलियो बनाइरहेको छ।

हामीले त्यहाँ रहेका एक व्यक्तिसँग बास्तबिकता बुझ्न खोज्यौं। तर, उनले केही पनि खुलाउन चाहेनन् । समिट होटलले अहिलेसम्म कति क्षेतीपुर्ती दियो भन्ने हाम्रो प्रश्नमा उनले अहिलेसम्म दिएको छैन् भन्दै अकमकाउँदै ‘अलि-अलि’ भने । आफ्नो परिचय लुकाउनमा केन्द्रीत देखिएका उनी सोही होटलका संचालक आशुतोष र शशांकका पिता प्रवीण आचार्य रहेछन्।

खोजमुलक पत्रकारितामा अग्रसर हाम्रो टिमलाई उनको पिताले अकमकाउँदै दिएको जवाफ, र होटलका प्रबन्ध निर्देशक उनै आशुतोष आचार्य स्वयं संचारमाध्यमको सम्पर्कमा आउन नखोज्नुले शंकाको सुई समिट होटल तर्फ नभई ग्रीनवीच होटल र होटल संचालक आचार्य परिवारतिरै सोझियो।

घटनाको पृष्ठभूमि र हालसम्म भएका आर्थिक लेनदेनको विवरण हेर्दा ग्रीनविच होटलका सञ्चालक प्रवीण आचार्य, शशांक आचार्य र आशुतोष आचार्यमाथि भने ‘व्यवसायभन्दा क्षतिपूर्तिमै बढी रुचि देखिएको’ पाइएको छ।

समिटसँगको विवाद अदालत र सरकारी निकाय मार्फत समाधान गर्न भन्दा सामाजिक सञ्जाल मार्फत जनचासो बढाउने, पब्लिक सेन्टिमेन्ट बटुल्ने, विवादलाई गिजोल्ने र विवाद समाधान नगरी क्षेतीपुर्तीको नाममा निरन्तर रकम प्राप्त गर्नमा आशुतोष आचार्य उद्दत देखिएको खुल्न थालेको छ।

समिट होटलको दाबीअनुसार २०७९ चैत २५ गते निर्माणको प्रारम्भिक चरणमा भएको जमिन भासिने घटनापछि प्रभावित संरचनाको क्षति सम्बोधनका लागि ललितपुर महानगरपालिकाको संयोजनमा समिति गठन गरिएको थियो। आठ प्रभावितमध्ये सात पक्षसँग सहमति भएर कार्यान्वयनको चरणमा पुगिसकेको छ। तर, ग्रीनविच होटल भने तीन वर्षदेखि विवादलाई लम्ब्याउँदै आएको आरोप समिटको छ।

१० वर्षदेखि घाटामा, तर तीन वर्षमै ९ करोड ६६ लाख प्राप्त

ग्रीनविच होटलले नेपाल सरकारलाई बुझाएको लेखापरीक्षण प्रतिवेदनमा पछिल्लो १० वर्षदेखि व्यवसाय घाटामा रहेको देखिन्छ। यस्तै, वार्षिक औसत आर्थिक क्षति करिब १ करोड ६० लाख रुपैयाँ रहेको आधारमा तीन वर्षको अधिकतम क्षति ४ करोड ८० लाख रुपैयाँभन्दा बढी नहुने देखिन आएको छ। तर, त्यसको झण्डै दोब्बर अर्थात् ९ करोड ६६ लाख रुपैयाँ ग्रीनविच होटलले अग्रिम रूपमा बुझिसकेको पाइएको छ।

लेखापरीक्षण अनुसार १० बर्ष देखि निरन्तर घाटामा रहेको होटल पुनर्निर्माण गरी संचालन गर्नु भन्दा वार्षिक करोडौं रुपैयाँ बिना झन्झट क्षतीपुर्ती प्राप्त हुँदै आउनुले ग्रीनविचको समस्याग्रस्त भवन समिट होटलले निर्माण गरिदिन्छौं भन्दा पनि ग्रीनविच होटलले अस्विकार गर्नुले विषयलाई थप प्रष्ट बनाएको छ।

पुनर्निर्माणभन्दा क्षतिपूर्ति रकममै रुचि

‘ईआर टेक’को प्रतिवेदनले क्षति भएका संरचनाको पुनर्निर्माण आवश्यक रहेको देखाएपछि समिट होटलले संरचना पुनर्निर्माण गरिदिनेसम्मको प्रस्ताव गरेको जनाएको छ। तर, पुनर्निर्माणको प्रस्तावलाई स्वीकार नगरी थप आर्थिक दाबी र सामाजिक सञ्जालमार्फत एकोहोरो प्रचारमा ग्रीनविच पक्ष सक्रिय देखिएको समिटले बिज्ञप्ति मार्फत जनाएको छ। समिटको प्रश्न छ— यदि वास्तविक उद्देश्य होटल पुनः सञ्चालन गर्ने हो भने, पुनर्निर्माणको प्रस्ताव किन अस्वीकार गरियो ?

न्यायको खोजी भन्दा जनभावना बटुल्ने प्रयास

क्षति भएको अवस्थामा क्षतिपूर्ति माग्नु प्रभावित पक्षको अधिकार हो। तर, सम्बन्धित निकायको समन्वयमा समाधानको प्रक्रिया चलिरहेका बेला संवादभन्दा सामाजिक सञ्जाललाई प्राथमिकता दिनु, पुनर्निर्माणको प्रस्ताव अस्वीकार गर्नु र प्राप्त रकमबारे स्पष्टता नदिनुले ग्रीनविच होटलको उद्देश्यप्रति प्रश्न उठेको छ। समिट होटलले आफू पुनर्निर्माण, क्षतिपूर्ति तथा सहमतिमार्फत समाधानका लागि अझै तयार रहेको जनाएको छ। तर, तीन वर्षको अवधिमा झण्डै १० करोड रुपैयाँ बुझिसकेको पक्षबाट अझै पनि “क्षतिपूर्ति पाएका छैनौं” भन्ने भाष्य निर्माण गरिनु वास्तविक पीडाभन्दा पनि ‘व्यापार नगरी क्षतिपूर्तिबाटै आम्दानी गर्ने रणनीति त होइन ?’ भन्ने प्रश्नलाई थप बलियो बनाइरहेको छ।

संचार संस्थाले पटक-पटक सम्पर्क गर्दा सम्पर्कमा नआएका उनी आफ्नै शैलीले सामाजिक संजाल प्रयोगगरी आफुले प्राप्त गरेको क्षतीपुर्ती रकम र सम्झौताको बास्तबिकता लुकाउँदै अर्को पक्षको विरुद्ध खनिनुले आशुतोष दोस्रो पक्षको बदनाम गराउँदै निरन्तर क्षतीपुर्ती प्राप्तिमा उद्दत भएको देखिन थालेको छ।

  • यस विषयमा ग्रीनविच होटल तथा आचार्य परिवारको धारणा लिन पटक–पटक प्रयास गरिए पनि समाचार तयार पार्दासम्म कुनै आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन।

प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com