काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले देशका प्रमुख राजमार्गहरूमा सार्वजनिक शौचालयको अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
धादिङबाट निर्वाचित सांसद तामाङले विशेषगरी पृथ्वी राजमार्गमा यात्रा गर्ने क्रममा यात्रुहरूले शौचालय नपाउँदा सास्ती भोग्नुपरेको बताइन्। पर्याप्त सार्वजनिक शौचालय नहुँदा यात्रुहरू खुला स्थान तथा झाडीको सहारा लिन बाध्य हुने अवस्था रहेको उनको भनाइ छ।
उनले राजमार्गमा यात्रा गर्ने सर्वसाधारणको आधारभूत आवश्यकतालाई ध्यानमा राख्दै पर्याप्त सार्वजनिक शौचालय निर्माण गर्न सरकारसँग माग गरिन्।
“पृथ्वी राजमार्गमा यात्रा गर्दा शौचालयको अभावका कारण यात्रुहरू गाडीबाट ओर्लेर झाडीको खोजी गर्न बाध्य छन्। यस्तो अवस्था अन्त्य गर्न राजमार्ग क्षेत्रमा निश्चित दूरी–दूरीमा सार्वजनिक शौचालय निर्माण गरिनुपर्छ,” तामाङले भनिन्।
सांसद तामाङले स्वच्छता, यात्रु सुविधा तथा सार्वजनिक स्वास्थ्यलाई मध्यनजर गर्दै राजमार्ग केन्द्रित पूर्वाधार विकासमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिइन्।
प्रकाशित मिति: २९ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया