काठमाडौं। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रश्न गर्ने सांसदलाई ‘काण्डको फाइल खोल्छु’ भन्नु संसदीय मर्यादामाथिको अपमान भएको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको निरन्तर अनुपस्थिति र मौन बस्ने कुरा व्यक्तिगत लहडको विषय नभएको स्पष्ट पारे ।
“प्रधानमन्त्रीको संसद् अनुपस्थिति र मौनता उहाँको रुचि या व्यक्तिगत लहडको विषय होइन । प्रश्न गर्ने नागरिक अधिकार हो भने संसद्मा सांसदहरूको विशेष अधिकार हो ।
प्रश्न गर्ने सांसदलाई तपाईँको काण्डको फाइल खोल्छु भन्नु संसदीय मर्यादा माथिको अपमान हो । संसद्मा धम्की, नाराबाजी या प्रदर्शनको थलो होइन । यो त तर्क, बहस, नीति विमर्शको थलो हो । यतातिर हामी सबै गम्भीर बनौँ,” केसीले भने ।
उनले राष्ट्रियता जस्तो गम्भीर विषय उठ्दा प्रधानमन्त्री निरन्तर अनुपस्थित रहनु संसद् र जनताप्रतिको उपेक्षा भएको बताए ।
“उहाँको दायित्व वारेस मार्फत गराइनु संसद्प्रतिको घोर अपमान र खेदजनक हो । शक्ति सन्तुलन, नियन्त्रणका प्रक्रियाहरू एक अर्को गरेर भङ्ग हुँदै गएका छन् । केन्द्रिकरण तथा स्थापित संसदीय अभ्यास र संस्थागत गरिमालाई कुण्ठित पार्नु अस्थिरता र निरंकुशताको प्रवृत्ति हो,” केसीले थपे ।
केसीको यो अभिव्यक्तिले संसद्भित्र अर्थमन्त्रीको हालैको टिप्पणीमाथि तीव्र आलोचना बढाएको छ ।
प्रकाशित मिति: २९ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया