काठमाडौं। सशस्त्र प्रहरी बलमा नेतृत्व परिवर्तनसँगै सुधारको अपेक्षा गरिए पनि संगठनभित्र गुटबन्दी, पक्षपात र क्षेत्रीय प्रभावबारे बहस चर्किन थालेको छ। महानिरीक्षक नारायणदत्त पौडेल को हालैका सरुवा, बढुवा र पदस्थापन निर्णयलाई लिएर संगठनभित्र विभिन्न तहमा असन्तुष्टि देखिएको बताइएको छ।
संगठनका केही स्रोतका अनुसार हालका प्रशासनिक निर्णयहरूमा निष्पक्षता भन्दा पनि निकटता र क्षेत्रीय सम्बन्धलाई प्राथमिकता दिइएको आरोप उठ्न थालेको छ। विशेषगरी महत्त्वपूर्ण प्रशासनिक तथा संवेदनशील शाखाहरूमा नियुक्त गरिएका केही अधिकृतहरूको छनोटलाई लिएर प्रश्न उठाइएको छ।
कर्मचारी प्रशासन, सवारी व्यवस्थापन, भर्ना छनोट तथा प्रबन्धनसँग सम्बन्धित जिम्मेवारीहरूमा गरिएका नियुक्तिहरूलाई लिएर संगठनभित्र चासो बढेको छ। कतिपय अधिकृतहरू विगतमा विवादमा तानिएका व्यक्तिहरूलाई पुनः प्रभावशाली जिम्मेवारी दिइएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन्।
सरुवा तथा पदस्थापन प्रक्रियामा सीमित समूहको प्रभाव बढ्दै गएको चर्चा पनि मुख्यालय तहसम्म पुगेको बताइन्छ। यसले आगामी दिनमा हुने अन्य प्रशासनिक निर्णयहरू पनि विवादमा तानिन सक्ने अनुमान गरिएको छ।
संगठनका जानकारहरूका अनुसार सुरक्षा निकायजस्तो संवेदनशील संस्थामा निष्पक्षता, पारदर्शिता र व्यावसायिकता सबैभन्दा महत्त्वपूर्ण हुन्छ। नेतृत्वले सबै सदस्यलाई समान अवसर र विश्वास दिलाउन नसके संगठनको मनोबल तथा कार्यसम्पादनमा असर पर्न सक्ने उनीहरूको भनाइ छ।
यद्यपि, यी आरोपबारे सशस्त्र प्रहरी नेतृत्वको आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। संगठनभित्र उठिरहेका प्रश्न र गुनासोलाई कसरी सम्बोधन गरिन्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।
प्रकाशित मिति: २९ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया