काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले बाँदरको आतंकबाट पीडित किसानहरूको समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन्। साथै, बाँदर धपाउने क्रममा गम्भीर घाइते भएकी खोटाङकी एक महिलाको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले खोटाङकी टिपसरा राई आफ्नो बाली जोगाउन खेतबारीमा पसेका बाँदर लखेट्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएको जानकारी गराए। उनका अनुसार दुर्घटनामा राईको मेरुदण्ड तीन स्थानमा भाँचिएको छ र हाल उनको काठमाडौंस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ।
घाइतेको आर्थिक अवस्था कमजोर रहेको उल्लेख गर्दै सांसद राईले उपचार खर्च जुटाउन स्थानीय तथा शुभेच्छुकहरूबाट सहयोग संकलन गर्नुपरेको अवस्था रहेको बताए। उनले सरकारलाई उपचारको सम्पूर्ण जिम्मेवारी लिन आग्रह गर्दै भने, ‘घाइते नागरिकको निःशुल्क उपचार सुनिश्चित गर्न म सरकारसँग आग्रह गर्दछु।’
सांसद राईले किसानहरू लामो समयदेखि बाँदर आतंकका कारण पीडित रहँदै आएको उल्लेख गर्दै यसको व्यवस्थापनका लागि प्रभावकारी नीति र कार्यक्रम कहिले आउने हो भनेर सरकारसँग प्रश्न समेत गरे।
‘किसानको श्रम र कृषि उत्पादनको संरक्षण नगरी स्वाधीन राष्ट्र र आत्मनिर्भर अर्थतन्त्रको परिकल्पना सम्भव हुँदैन,’ उनले भने, ‘कृषकका समस्या समाधानतर्फ सरकारको ध्यान किन पर्याप्त रूपमा केन्द्रित हुन सकेको छैन ?’
यसैबीच, उनले केही दिनअघि परेको अविरल वर्षाका कारण खोटाङ र भोजपुर जोड्ने मध्यपहाडी लोकमार्गअन्तर्गत पंकु खोलामा सडक भत्किँदा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको विषयमा पनि सरकारको ध्यानाकर्षण गराए। प्रभावित सडक खण्डको तत्काल मर्मत तथा आवागमन सुचारु गर्न आवश्यक पहल गर्न उनले सरकारसँग माग गरे।
प्रकाशित मिति: २९ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया