काठमाडौं। सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको विशेष अदालतमा बयान पूरा हुन नसकेपछि दुवैलाई न्यायिक हिरासत मा पठाइएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य न्यायाधीश उमेश कोइराला र विदुर कोइरालाको इजलासमा शुक्रबारदेखि बयान लिने प्रक्रिया सुरु गरिएको थियो। तर दीपक भट्टको बयान पूरा हुन नसकेपछि बाँकी बयान सोमबार पुनः निरन्तर गरिने अदालतले जनाएको छ। बयान सकिएपछि थुनछेक बहस हुने बताइएको छ।

advertisement

त्यस्तै, प्रतिवादी सुलभ अग्रवालको बयान भने बीचमै स्थगित गरिएको छ। बयानका क्रममा अचानक स्वास्थ्य समस्या देखिएपछि उनको बयान रोकिएको हो। त्यसपछि उनलाई पनि न्यायिक हिरासतमा पठाइएको अदालत स्रोतले जनाएको छ। अग्रवालको बयान स्थगित भएपछि दिउँसो १:३० बजेदेखि दीपक भट्टको बयान सुरु गरिएको थियो।

सम्पत्ति शुद्धीकरण मुद्दामा दीपक भट्टसँगै शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल, शंकरलाल अग्रवाल, सन्दीप चाचन अग्रवाल र अमित मोरलाई पनि प्रतिवादी बनाइएको छ। सन्दीप चाचन दलाल नम्बर ५५ सञ्चालन गर्ने ब्रोकिङ कम्पनीका अध्यक्ष हुन्।

अनुसन्धान अनुसार हिमालयन रि–इन्स्योरेन्स लगायत विभिन्न कम्पनीहरूको रकम दुरुपयोग गरेर अवैध सम्पत्ति आर्जन गरिएको आरोप छ। सोही आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

यस प्रकरणमा अनुसन्धानका लागि दीपक भट्टलाई चैत १९ गते पक्राउ गरिएको थियो भने सुलभ अग्रवाल चैत २२ गते पक्राउ परेका थिए।

अभियोगपत्रअनुसार दीपक भट्टमाथि सम्पत्ति शुद्धीकरण बापत २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बिगो दाबी गरिएको छ। आर्थिक वर्ष २०७४/७५ मा आफ्नो स्वामित्वमा रहेको घरजग्गाको पुनर्मूल्यांकन गरी थप ३५ करोड ६८ लाख ८६ हजार रुपैयाँभन्दा बढी सम्पत्तिमा देखाएको आरोप उनीमाथि छ।

यस्तै, इन्फिनिटी होल्डिङ्स प्रालिमा आर्थिक वर्ष २०७७/७८ मा थप ४५ करोड रुपैयाँ पुँजी वृद्धि गरिएको र आर्थिक वर्ष २०७९/८० मा पुनः ९ करोड ५० लाख रुपैयाँ थपिएको अभियोगपत्रमा उल्लेख छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार यी रकम बैंकिङ कसुर र कर्जा अपचलनमार्फत प्राप्त स्रोतबाट लगानी गरिएको दाबी गरिएको छ। अब अदालतमा बयान र थुनछेक बहसपछि मुद्दाको आगामी प्रक्रिया अघि बढ्नेछ।

प्रकाशित मिति: २९ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com