मुजफ्फराबाद। पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा विगत चार दिनदेखि जारी आन्दोलन हिंसात्मक बन्दै गएको छ । सरकारी र सैन्य दमनका कारण हालसम्म कम्तीमा ४६ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ भने ११ सयभन्दा बढी मानिसलाई पक्राउ गरिएको छ ।

विधानसभा चुनावमा शरणार्थीहरूका लागि आरक्षित सिटहरू खारेज गर्नुपर्ने माग राख्दै ‘जोइन्ट अवामी एक्सन कमिटी’ ले सुरु गरेको आन्दोलनका कारण मुजफ्फराबाद, मीरपुर, पुन्च र रावलकोट लगायतका क्षेत्र पूर्ण रूपमा ठप्प बनेका छन् ।

advertisement

पीओकेमा आगामी जुलाई २७ मा विधानसभा निर्वाचन हुँदैछ । जेएएसीले आरक्षित सिटहरू खारेज गर्नुपर्ने मुख्य माग राखेर आन्दोलन गरिरहेको छ ।

तनाव बढ्दै गएपछि पाकिस्तान सरकारले गत जुन ५ मा जेएएसीलाई प्रतिबन्ध लगाएको थियो । प्रशासनले आन्दोलन दबाउन अतिरिक्त अर्धसैनिक बल परिचालन गरेको छ भने जेएएसीका प्रमुख नेताहरूमाथि राजद्रोहको मुद्दा दर्ता गरेको छ ।

प्रशासनले घाटीलाई बाहिरी दुनियाँबाट अलग राख्न इन्टरनेट बन्द गरेको छ । यद्यपि, भूमिगत रहेका नेताहरूले सामाजिक सञ्जालमा विरोध जारी राखेका छन् ।

लामो समयदेखि बजार, यातायात, विद्यालय र सरकारी कार्यालयहरू बन्द हुँदा पीओकेमा आम नागरिकको जनजीवन कष्टकर बनेको छ । खाद्यान्न र औषधिको चरम अभाव देखिएको छ ।

पीओकेमा भइरहेको मानवअधिकार उल्लंघनविरुद्ध लन्डन र न्यूयोर्कमा पनि प्रदर्शन भएका छन् । भारत प्रशासित कश्मीरको श्रीनगरमा पनि विरोध प्रदर्शन भएको छ ।

नेशनल कन्फरेन्सका अध्यक्ष फारुक अब्दुल्लाहले पीओकेको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै संयुक्त राष्ट्र संघलाई ‘फ्याक्ट फाइन्डिङ मिसन’ पठाउन माग गरेका छन् ।

प्रकाशित मिति: ३० जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com