काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पछिल्लो निर्वाचनको नतिजाले आफूहरूलाई निराश नबनाएको बताएका छन्। अपेक्षाअनुसार सफलता हासिल हुन नसके पनि त्यसलाई अनुभव र सिकाइका रूपमा ग्रहण गर्दै पार्टीलाई थप सुदृढ र देशव्यापी बनाउने अभियान जारी रहने उनले बताएका हुन्।
शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै घिसिङले निर्वाचनलाई सफलताको यात्राको पहिलो चरणका रूपमा व्याख्या गरे। उनले राजनीतिक यात्रामा प्राप्त अनुभवले आगामी दिनमा पार्टीलाई अझ प्रभावकारी ढंगले अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
जनताले आफूहरूप्रति देखाएको विश्वास, समर्थन र सद्भाव कायम रहेको उल्लेख गर्दै उनले यही विश्वासलाई आगामी दिनमा राजनीतिक शक्तिमा रूपान्तरण गर्ने लक्ष्य रहेको बताए।
अध्यक्ष कुलमान घिसिङले पार्टी संगठन विस्तारलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै सदस्यता विस्तार अभियानलाई देशव्यापी रूपमा सञ्चालन गर्न नेता–कार्यकर्तालाई निर्देशन दिए। संगठन बलियो भए मात्रै वैकल्पिक राजनीतिक शक्तिको रूपमा स्थापित हुन सकिने उनको भनाइ थियो।
उनले पार्टीलाई जनताको घरदैलोसम्म पुर्याउन, नयाँ सदस्यहरूलाई जोड्न र संगठनलाई तल्लो तहसम्म विस्तार गर्न सबै नेता–कार्यकर्ता सक्रिय रूपमा लाग्नुपर्ने आवश्यकता औँल्याए।
प्रकाशित मिति: ३० जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया