काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भएका नेता धवलशमशेर राणाको समूह र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंबीच नयाँ राजनीतिक दल गठन गर्ने सहमति भएको छ। दुवै पक्षले संगठन निर्माणको गृहकार्य तीव्र बनाएका छन् भने असार महिनाभित्रै पार्टीलाई औपचारिक स्वरूप दिने तयारी भइरहेको नेताहरूले बताएका छन्।
सञ्चारमाध्यमसँग कुरा गर्दै पूर्वमन्त्री तथा राप्रपाका पूर्वनेता दिलनाथ गिरीले नयाँ पार्टीको नेतृत्व धवलशमशेर राणाले गर्ने समझदारी बनेको जानकारी दिएका थिए। पार्टी गठनको प्रक्रिया अन्तिम चरणमा पुगेका बेला राणा उपचारका लागि बेलायत प्रस्थान गरेका छन्।
गिरीका अनुसार दुर्गा प्रसाईंलाई पार्टीको ‘सर्वमान्य नेता’का रूपमा प्रस्तुत गर्ने विषयमा पनि सहमति जुटेको छ। उनले वर्तमान राजनीतिक दलहरू र नेतृत्वप्रति जनतामा बढ्दो असन्तुष्टि नयाँ राजनीतिक विकल्प निर्माणको प्रमुख आधार बनेको दाबी गरे।
उनले भने, ‘पुराना दलहरूमा जनभावनाभन्दा नेतृत्व र संगठनलाई केन्द्रमा राख्ने प्रवृत्ति हाबी भयो। जनताका अपेक्षा सम्बोधन गर्न नसक्दा राजनीतिक प्रणालीप्रति नै निराशा बढेको छ। त्यसैले नयाँ विकल्पको आवश्यकता महसुस भएको हो।’
गिरीले राप्रपाभित्र परिवारवाद, गुटबन्दी र भ्रष्टाचार मौलाएको आरोप लगाउँदै अब जनतालाई केन्द्रमा राखेर नयाँ राजनीतिक संस्कार स्थापित गर्नुपर्ने आवश्यकता औँल्याए।
नयाँ दललाई संस्थागत स्वरूप दिन विभिन्न संरचनात्मक तयारीसमेत अघि बढाइएको छ। पार्टी निर्माणमा संलग्न एक नेताका अनुसार दलको नाम, विधान तथा चुनाव चिह्न तय गर्न मुकुन्दश्याम गिरीको नेतृत्वमा ११ सदस्यीय कार्यदल गठन गरिएको छ। उक्त समितिले पार्टीको आधारभूत संरचना र वैधानिक दस्तावेजको मस्यौदा तयार पार्ने जिम्मेवारी पाएको छ।
यस्तै, विभिन्न राजनीतिक दलभित्र असन्तुष्ट रहेका नेता तथा कार्यकर्तासँग संवाद र समन्वय गर्न राजु आचार्यको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरिएको छ। टोलीले सम्भावित राजनीतिक सहकार्य र नयाँ सदस्यता विस्तारका विषयमा छलफल गरिरहेको बताइएको छ।
नयाँ दल गठन प्रक्रियाबारे हालसम्म भएका प्रगतिका विषयमा जानकारी दिन आइतबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरिएको छ। कार्यक्रममा धवलशमशेर राणा र दुर्गा प्रसाईं दुवै सहभागी हुने कार्यक्रम रहेको नेता रञ्जन कार्कीले जानकारी दिए।
कार्कीका अनुसार राष्ट्रवादी शक्तिहरूबीच व्यापक एकता कायम गरी मुलुकलाई नयाँ राजनीतिक दिशा दिने उद्देश्यसहित नयाँ दल निर्माणको पहल गरिएको हो। यसअघि जेठ २२ गते राणा र प्रसाईंबीच ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको थियो।
नयाँ दलले संवैधानिक राजसंस्थाको पुनर्स्थापना तथा वैदिक सनातन हिन्दु राष्ट्र स्थापनालाई आफ्नो प्रमुख वैचारिक आधार बनाउने तयारी गरेको छ। साथै युवा पुस्ता, विशेषगरी जेन–जी समूह, राष्ट्रवादी धारका नागरिक तथा विद्यमान राजनीतिक दलप्रति असन्तुष्ट वर्गलाई समेट्ने लक्ष्य राखिएको नेताहरूले बताएका छन्।
नयाँ दलको औपचारिक घोषणा र नेतृत्व संरचनाबारे अन्तिम निर्णय भने आगामी केही साताभित्र सार्वजनिक गरिने जनाइएको छ।
प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया