काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध समाप्त भएको र ऐतिहासिक शान्ति सम्झौता आजै हस्ताक्षर हुने दाबी गरेका छन् ।
जर्जियामा आयोजित एक भर्चुअल र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले इरानले आणविक हतियार नबनाउने सर्त स्वीकार गरेको बताए । उनले यो सम्झौता मध्यपूर्वमा शान्ति स्थापनाको महत्वपूर्ण कदम भएको उल्लेख गरे ।
ट्रम्पका अनुसार सम्झौतापछि स्ट्रेट अफ हर्मुज (हर्मुज जलडमरू) तत्काल खुला गरिनेछ र अमेरिकाले रोक्का गरेका इरानी सम्पत्तिहरू क्रमिक रूपमा फुकुवा गरिनेछ ।
यद्यपि, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सम्झौता प्रक्रिया अझै अन्तिम चरणमा नपुगेको बताएका छन् । उनले केही दिनभित्रै औपचारिक हस्ताक्षर हुन सक्ने सम्भावना रहेको जनाए ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले दुवै पक्षबीच मध्यस्थता गर्दै आएका छन् । सम्झौता प्रारम्भिक ६० दिने समझदारी पत्रको रूपमा हुनेछ, जसले स्थायी शान्तिका लागि मार्गचित्र तयार पार्नेछ ।
सम्झौताको मुख्य बुँदाहरूमा पूर्ण युद्धविराम, हर्मुज जलमार्ग खुला गर्ने, इरानी सम्पत्ति फुकुवा र आणविक सामग्री व्यवस्थापन रहेका छन् ।
यस घोषणापछि विश्व बजारमा तेलको मूल्य घटेको छ भने सेयर बजारमा उत्साह देखिएको छ । तर, इरानभित्र आन्तरिक विरोध र लेबनानमा जारी इजरायली आक्रमणले शान्ति प्रक्रियालाई चुनौती दिइरहेको छ ।
प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया