काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सहरी यातायात सुधार, जग्गा एकीकरण आयोजनाको व्यवस्थापन, सांस्कृतिक सम्पदाको उपयोग तथा सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ।
आइतबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा महानगरले सुरक्षित, व्यवस्थित र दिगो सहरी यातायात प्रणाली विकास गर्ने लक्ष्यसहित पैदलयात्री तथा साइकलमैत्री पूर्वाधार विस्तार गर्ने घोषणा गरेको छ। साथै, ‘जीवन्त र समृद्ध सहर’को अवधारणालाई व्यवहारमा उतार्न सार्वजनिक यातायात सेवाको पहुँच विस्तार गर्दै साझा यातायातमार्फत रात्रिकालीन सेवा क्रमशः सञ्चालन गरिने उल्लेख गरिएको छ।
महानगरले वर्षौंदेखि सञ्चालनमा रहेका नयाँबजार र चःमति जग्गा एकीकरण आयोजनाको व्यवस्थापन तथा हस्तान्तरणका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने जनाएको छ। यस्तै, मनोहरा जग्गा एकीकरण आयोजनालाई आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित आवश्यक बजेट विनियोजन गरिने नीति लिइएको छ।
सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण र उपयोगलाई पनि प्राथमिकतामा राखिएको छ। यसअन्तर्गत सुन्धारा–धरहरा क्षेत्रको प्रभावकारी सञ्चालन, भृकुटीमण्डपमा अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र निर्माण तथा काठमाडौं प्लाजा भवनलाई दीर्घकालीन रूपमा महानगरको स्वामित्व वा प्रयोगमा ल्याउन संघीय सरकारसँग आवश्यक पहल गरिने उल्लेख छ।
सामाजिक क्षेत्रतर्फ महानगरले नदी किनार तथा सार्वजनिक स्थानमा जोखिमपूर्ण अवस्थामा बसोबास गरिरहेका नागरिकहरूको व्यवस्थापनलाई विशेष महत्व दिएको छ। उद्धार गरिएका व्यक्तिहरूको पुनर्स्थापना र व्यवस्थापनका लागि संघीय सरकारसँग समन्वय गरी स्पष्ट कार्ययोजना कार्यान्वयनमा ल्याइने नीति तय गरिएको छ।
त्यसैगरी, सहरी गरिब, विस्थापित, असहाय तथा साहाराविहीन परिवारका लागि संघ र प्रदेश सरकारको सहकार्यमा उपयुक्त स्थान पहिचान गरी सामूहिक आवासको व्यवस्था गर्ने कार्यक्रमलाई पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ।
महानगरले आगामी वर्षको नीति तथा कार्यक्रममार्फत पूर्वाधार विकास, सम्पदा संरक्षण, यातायात व्यवस्थापन र सामाजिक सुरक्षाबीच सन्तुलन कायम गर्दै समावेशी र व्यवस्थित राजधानी निर्माण गर्ने लक्ष्य अघि सारेको जनाएको छ।
प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया