काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग्गिएर नयाँ राजनीतिक दल गठनको तयारीमा रहेका नेता डा. धवलशमशेर राणाले राप्रपाले आफूले बोकेको विचार, मूल्य र एजेन्डाप्रति इमानदार रूपमा काम गर्न नसकेको आरोप लगाएका छन्।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै राणाले मुलुकमा बलियो राष्ट्रवादी राजनीतिक शक्तिको आवश्यकता रहेको उल्लेख गर्दै त्यसै उद्देश्यका साथ नयाँ दल निर्माणको अभियान अघि बढाइएको बताए।

advertisement

उनले आगामी दुईदेखि तीन महिनाभित्र नयाँ पार्टीलाई संगठित र प्रभावशाली राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने दाबी गरे। राजसंस्थासहितको प्रजातान्त्रिक व्यवस्थालाई आफ्नो राजनीतिक आधार बनाउने उक्त दल वर्तमान राजनीतिक शक्तिहरूको विकल्प बन्न सक्ने उनको भनाइ थियो।

‘देशमा बलियो राष्ट्रवादी शक्तिको आवश्यकता थियो, तर त्यो आवश्यकता पूरा गर्न राप्रपा असफल भयो,’ राणाले भने, ‘पछिल्ला निर्वाचन परिणामहरूले पनि त्यसलाई स्पष्ट रूपमा देखाइसकेका छन्।’

राणाले राप्रपाले लामो समयदेखि उठाउँदै आएको सनातन हिन्दु राष्ट्र र राजसंस्थासम्बन्धी एजेन्डा जनताले नभई पार्टी नेतृत्वकै व्यवहारका कारण कमजोर बनेको दाबी गरे। उनले पार्टीले सार्वजनिक रूपमा एकथरी कुरा गर्ने तर व्यवहारमा फरक नीति अवलम्बन गर्ने प्रवृत्ति देखाएको आरोप लगाए।

उनले भने, ‘हामीले उठाएका मूल एजेन्डा जनताले अस्वीकार गरेका होइनन्। समस्या पार्टीभित्रको कार्यशैली र नेतृत्वको व्यवहारमा देखियो। सिद्धान्त र व्यवहारबीचको अन्तरले कार्यकर्ता र समर्थकमाझ निराशा बढाएको छ।’

राणाले पछिल्लो निर्वाचनमा राप्रपाले अपेक्षाअनुसार परिणाम हासिल गर्न नसकेको उल्लेख गर्दै त्यसले पार्टीप्रति जनविश्वास कमजोर भएको संकेत गरेको बताए। यही कारणले वैकल्पिक राजनीतिक शक्ति निर्माणको आवश्यकता महसुस भएको उनको भनाइ थियो।

नयाँ पार्टीमा सबैलाई समान अवसर दिइने र कुनै प्रकारको भेदभाव वा पक्षपात नहुने प्रतिबद्धता व्यक्त गर्दै उनले राष्ट्रवादी धारका विभिन्न व्यक्ति र समूहलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको जानकारी दिए।

दुर्गा प्रसाईंसँगको राजनीतिक सहकार्यबारे उठिरहेका प्रश्नहरूको जवाफ दिँदै राणाले उक्त सहकार्य दीर्घकालीन उद्देश्यका साथ अघि बढाइएको बताए। राष्ट्रवादी शक्तिको एकीकरण, राजनीतिक परिवर्तन र आफूहरूले उठाएका एजेन्डाको संस्थागत स्थापनासम्म सहकार्य कायम रहने उनको दाबी थियो।

राणाले नयाँ पार्टीको नाम, झण्डा, चुनाव चिह्न तथा संगठनात्मक संरचनाबारे आवश्यक तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै ती विषयहरू छिट्टै सार्वजनिक गरिने बताए।

प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com