विराटनगर । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीको वर्तमान नेतृत्वले संगठनलाई इतिहासकै कमजोर अवस्थामा पुर्याएको आरोप लगाएका छन् ।
विराटनगरमा आयोजित संस्थापनइतर समूहको भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले विशेषगरी महामन्त्री गगन थापाप्रति लक्षित गर्दै कडा टिप्पणी गरे । उनले पार्टी नेतृत्वले पुराना र स्थापित नेताहरूलाई योजनाबद्ध रूपमा पाखा लगाउन खोजेको दाबी गरे ।
क्रियाशील सदस्यता नवीकरणमा भएको अवरोधप्रति आक्रोश व्यक्त गर्दै बस्नेतले भने, ‘बिपी पुत्र डा. शशांक कोइरालादेखि प्रकाशमान सिंह र विमलेन्द्र निधिसम्मका प्रभावशाली नेताहरूको सदस्यता नवीकरणमा अवरोध गरिनु दुःखद छ । दशकौँदेखि पार्टीमा पसिना बगाएका सिनियर नेताहरूको सदस्यता रद्द गर्ने र बिना कुनै मापदण्ड नयाँ मान्छे थप्ने काम भइरहेको छ ।’
नेता बस्नेतले कांग्रेसलाई कमजोर बनाउन ‘नाटक’ रचिएको आरोप लगाए । उनले थपे, ‘कांग्रेसलाई इतिहासकै कमजोर बनाउने काम विभिन्न प्रपञ्चमार्फत भयो । यसका मुख्य पात्र वा खलनायक हाम्रा महामन्त्री गगन थापाजी हुन् । अब उहाँको नेतृत्वबाट पार्टी मिल्छ वा सुध्रिन्छ भनेर के आश गर्ने ?’
आन्तरिक विवादका कारण कांग्रेस संकटमा परेको बताउँदै नेता बस्नेतले पार्टीलाई जोगाउन र सुदृढ बनाउन सम्पूर्ण नेता तथा कार्यकर्तालाई एक ढिक्का भएर लाग्न आह्वान गरे । उनले पार्टीभित्रको मनमुटाव चिरेर वैचारिक एकता कायम गर्नुपर्नेमा जोड दिए ।
प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया