सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले सरकार गठन र निर्वाचन जित्नु मात्र अन्तिम उपलब्धि नभएको भन्दै अब देश निर्माण र पार्टी सुदृढीकरणको जिम्मेवारी पूरा गर्न बाँकी रहेको बताएका छन्।

आइतबार वीरेन्द्रनगरमा आयोजित रास्वपा कर्णाली प्रदेशको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै शाहले पार्टीले सरकारको नेतृत्व गरे पनि जनअपेक्षाअनुसार मुलुकको रूपान्तरण गर्ने चुनौती अझै बाँकी रहेको बताए।

advertisement

‘हामीले सरकार बनाएका मात्र हौँ, देश बनाउने काम अझै बाँकी छ,’ उनले भने, ‘हामीले चुनाव जितेका छौँ, तर बलियो र संस्थागत पार्टी निर्माण गर्ने काम पूरा भएको छैन।’

महामन्त्री भूपदेव शाहले अधिवेशनबाट आगामी स्थानीय तह र प्रदेश निर्वाचनलाई ध्यानमा राख्दै सक्षम, जिम्मेवार र जनतासँग जोडिएको नेतृत्व चयन गर्न आग्रह गरे। उनले पार्टी संगठनलाई अझ बलियो बनाउँदै आगामी चुनावमा पार्टी र मुलुक दुवैको हित सुनिश्चित गर्ने नेतृत्व आवश्यक रहेको बताए।

उनले कर्णाली प्रदेशभित्र पनि विकास र अवसरका हिसाबले पछाडि परेका क्षेत्रहरू रहेको उल्लेख गर्दै ती समस्याप्रति संवेदनशील बन्न नेतृत्वलाई आग्रह गरे।

‘कर्णालीभित्र पनि अर्को कर्णाली छ,’ शाहले भने, ‘विकासको मूलधारबाट टाढा रहेका समुदाय र क्षेत्रलाई बिर्सेर समृद्ध कर्णालीको परिकल्पना गर्न सकिँदैन।’

उनले रास्वपाले सुशासन, विकास र जनउत्तरदायी राजनीतिलाई केन्द्रमा राखेर अघि बढिरहेको उल्लेख गर्दै संगठन विस्तारसँगै जनविश्वासलाई थप मजबुत बनाउने दिशामा काम गर्न कार्यकर्ताहरूलाई आह्वान गरे।

प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com