काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले शिक्षा, स्वास्थ्य र विद्युत् क्षेत्रमा ‘लग्जरी कर’ (विलासिता कर) लगाउने प्रस्ताव उपयुक्त नभएको बताएका छन् ।
पार्टीद्वारा आइतबार आयोजित ‘सुवर्ण शमशेर इकोनोमिक शृङ्खला’ कार्यक्रममा बोल्दै थापाले सरकारले आयकरमा केही सहुलियत दिएको जस्तो देखाए पनि अन्य क्षेत्रमा करको भार बढाएको आरोप लगाए ।
महामन्त्री थापाले वर्तमान अवस्थामा निजी विद्यालय र अस्पतालमा सेवा लिनु नागरिकको ‘रहर’ नभई ‘बाध्यता’ भएको स्पष्ट पारे । उनले भने, ‘निजी विद्यालयमा बच्चा पढाउनु र निजी अस्पतालमा उपचार गराउनु अहिले विलासिता होइन । सरकारी विद्यालय र अस्पतालको अवस्था सुधार्नुको साटो निजी क्षेत्रमा गएको भन्दै कर लगाउनु न्यायोचित हुँदैन ।’
सरकारी सेवाको गुणस्तर र सहज पहुँच सुनिश्चित नभएसम्म निजी क्षेत्रबाट सेवा लिने नागरिकलाई करको दायरामा पार्नु गलत भएको उनको भनाइ छ ।
थापाले सरकारको कर नीतिप्रति व्यङ्ग्य गर्दै भने, ‘सरकारले अगाडिको गोजीमा सहुलियत दिएको जस्तो देखाएर पछाडिको गोजीबाट सुटुक्क कर असुलिरहेको छ ।’
कार्यक्रममा महामन्त्री थापाले पार्टीका सांसदहरूलाई बजेटमाथि संसद्मा छलफल गर्दा ‘क्रमिक सुधार’ र ‘संरचनागत सुधार’ बीचको भिन्नता छुट्ट्याएर आफ्ना धारणा राख्न निर्देशन दिएका छन् । नागरिकले सेवा पाउन नसकेको अवस्थामा करको भार मात्र थोपर्ने सरकारी प्रवृत्तिको विरोध गर्न उनले सांसदहरूलाई आग्रह गरे ।
प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया