काठमाडौं । कैलाली जिल्लाको गोदावरी नगरपालिका–४ गाईबाँधेमा ट्याम्पोलाई भीरबाट खसालेको घटनामा १० जना वन कर्मचारी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीले ६ जना र इलाका प्रहरी कार्यालय मालाखेतीले ४ जनालाई पक्राउ गरेर नियन्त्रणमा लिएको छ ।
ट्याम्पो खसालेको भिडियो भाइरल भएपछि प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयले चासो लिएका थिए । त्यसपछि प्रहरीले संलग्न कर्मचारीहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो । प्रहरी स्रोतका अनुसार सोधपुछका लागि १० जनालाई नियन्त्रणमा लिइएको छ ।
पक्राउ परेका सबै जना वन रक्षक तथा जुनियर कर्मचारी हुन् । जिल्ला वन अधिकृत रामविचारी ठाकुरसहित उच्च पदस्थ कर्मचारीहरू जिल्ला प्रशासन कार्यालय कैलालीमा छलफलमा जुटेका छन् ।
वन क्षेत्रको जग्गा अतिक्रमण गरेर ट्याम्पोमा खोका पसल सञ्चालन गरिरहेको देखिएपछि उक्त ट्याम्पोलाई हटाउन खोज्दा भीरमा खसेको जिल्ला वन कार्यालयको स्पष्टीकरण छ ।
प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार












प्रतिक्रिया