विराटनगर । नेपाली कांग्रेसका पूर्व उपसभापति विजयकुमार गच्छदारले पार्टी सभापति गगन थापाको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।

आइतबार विराटनगरमा आयोजित संस्थापनइतर समूहको एकता भेलालाई सम्बोधन गर्दै गच्छदारले गगन थापालाई विशेष महाधिवेशन र अदालती प्रक्रियाबाट सभापति बने पनि अहङ्कार नराख्न र अग्रज नेताहरूबाट सिक्न आग्रह गरे ।

advertisement

‘गगन थापाजी, तपाईं कांग्रेसको सभापति भइसक्नुभयो विशेष अधिवेशनबाट । नट ओन्ली द्याट, सर्वोच्च अदालतबाट तपाईं वैधानिक रूपले बलियो सभापति बन्नुभएको छ । अनि सभापतिको के भूमिका हुन्छ, तपाईंलाई आउँदैन भने सिक्नुस् ! कृष्ण सिटौला गुरूहरूसँग सिक्नुस्, मिनेन्द्र रिजालसँग सिक्नुस्,’ गच्छदारले भने ।

पार्टीभित्र पुराना र स्थापित नेताहरूलाई किनारा लगाउन खोजिएको भन्दै उनले आक्रोश व्यक्त गरे । ‘सिध्याइदिने अरे ! विजय गच्छदार, कृष्ण सिटौला, शेखर कोइरालाहरूलाई सिध्याइदिने अरे… शशांक कोइरालालाई सिध्याइदिने अरे… अनि कोइरालाहरू कहिलेकाहीँ भड्किनुहुन्छ । त्यसैले सुन्नुस् साथीहरू, तपाईंहरुले नै गगन थापालाई महामन्त्री बनाइ दिनुभएको होइन ?,’ डा. शेखर कोइरालालाई इंगित गर्दै उनले भने ।

गच्छदारले गगन थापालाई पार्टीका वरिष्ठ नेताहरूसँग संवाद गर्न र उनीहरूको मान–सम्मान राख्न आग्रह गरे । ‘मैले सभापतिजीलाई खबर पठाइराखेको छु— तपाईं नेताहरूसँग कुरा गर्नुस्, नेताहरूको मान–सम्मान कसरी राख्न सक्नुहुन्छ गर्नुस् । मलाई पनि तपाईं दर्शन भेट दिनुस् ! म सहयोग गर्न चाहन्छु, कसरी तपाईं पार्टीलाई मिलाएर लैजान चाहनुहुन्छ, म सहयोग गर्न तयार छु,’ उनले भने ।

नेता गच्छदारले आफू कुनै डर वा धम्कीबाट विचलित नहुने स्पष्ट पार्दै कांग्रेसका कार्यकर्ताहरूलाई पनि नडराउन आग्रह गरे । उनले विगतमा सङ्कटको समयमा ज्यान हत्केलामा राखेर लोकतन्त्रका लागि लडेको स्मरण गरे ।

‘म डराएर राजनीति गरेको होइन । जुन बेला गोली हानेर सोझै मार्ने आदेश हुन्थ्यो, त्यो बेला नडराएको मान्छे म । डर नामको चिज मैले उहिले नै त्यागिसकेको छु । त्यसैले तपाईं कांग्रेसजनहरू पनि नडराउनुस्, आफ्नो पुर्खाहरूबाट सिक्नुस्,’ उनले भने, ‘गला मिलाएर, दिलमा दिल मिलाएर, हातमा हात मिलाएर एकै ठाउँमा उभिएर एकताको सन्देश दिन सक्यौँ भने मात्र कांग्रेस जोगिन्छ ।’

गच्छदारले नेता शेखर कोइरालालाई पार्टीको बृहत्तर हितका लागि आफ्नो अहम् त्याग्न र फराकिलो छाती बनाउन सुझाव दिए । ‘तपाईंहरू पनि धेरै इगोको कुरा नगर्नुस् । इगोको कुरा गर्दाखेरि मैले नेपाली कांग्रेस विभाजन भएको देखेको छु । म शेखर दाइलाई पनि सन्देश दिन चाहन्छु– तपाईंहरू आफ्नो स्वार्थभन्दा माथि उठ्नुस् । तपाईं पनि एकदम ठुलो छाती लिएर जानुस्, ठुलो छाती नलिइकन हुँदैन,’ उनले भने ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com