काठमाडौं । नेपाली कांग्रेसका संस्थापन इतर समूहका युवा नेताहरूले शनिबार काठमाडौंमा ‘बृहत युवा भेला’ आयोजना गर्दै पार्टीभित्र देखिएको आन्तरिक विवाद, संगठनात्मक संकट र पार्टी एकताका विषयमा गम्भीर छलफल गरेका छन्।

चाबहिलस्थित नवदुर्गा पार्टी भेन्युमा आयोजित भेलामा युवा नेता भूपेन्द्रजंग शाहीले पार्टी एकतालाई बलियो बनाउन विशेष महाधिवेशनबाट गठन भएको वर्तमान केन्द्रीय कार्यसमिति खारेज गर्नुपर्ने माग गरेका छन्।
नेता शाहीले विशेष महाधिवेशनका नाममा गठन गरिएको केन्द्रीय समिति पार्टीभित्रको सहमति र समावेशिताको भावना विपरीत रहेको दाबी गर्दै त्यसलाई खारेज गरेर सबै पक्षलाई समेट्ने वातावरण बनाउनुपर्ने बताएका हुन ।

‘पार्टी एकताका लागि सबैभन्दा पहिले विशेष महाधिवेशनबाट आएको यो केन्द्रीय समिति खारेज गर्नुपर्छ,’ उनले भने, ‘भ्रातृ संस्थाहरूमा गरिएका टिके नियुक्तिहरू पनि खारेज गरी लोकतान्त्रिक प्रक्रियाअनुसार निर्वाचन गरिनुपर्छ ’ शाहीले भने ।
गत पुसमा तत्कालीन सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षको सहभागिताबिनै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागअनुसार विशेष महाधिवेशन सम्पन्न भएको थियो। उक्त महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको थियो।
विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै देउवा र तत्कालीन कार्यवाह सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। तर सर्वोच्च अदालतले रिट खारेज गरेपछि निर्वाचन आयोग र अदालत दुवैले विशेष महाधिवेशनलाई वैधानिकता दिएका थिए। त्यसका बाबजुद शाहीले पार्टी एकताका लागि वर्तमान कार्यसमिति पुनर्विचारको विषय बन्नुपर्ने बताएका हुन्।
भेलालाई सम्बोधन गर्दै उनले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियामा पनि अनियमितता हुन सक्ने आशंका व्यक्त गरे। डिजिटल प्रणालीका नाममा मनपर्ने व्यक्तिलाई मात्र समेट्ने र असहमत पक्षलाई बाहिर राख्ने प्रयास भएको उनको आरोप छ।
‘विशेष महाधिवेशनमा मनपर्ने मानिस भेला गरेर नेतृत्व चयन गरियो। अहिले सदस्यता अद्यावधिकका नाममा असहमत पक्षलाई बाहिर राख्ने प्रयास भइरहेको छ,’ उनले भने।
उनले पहिले नवीकरण भएका सदस्यताकै आधारमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न गर्न आग्रह गर्दै पार्टी नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने धारणा पनि राखे।

युवा नेता शाहीका अनुसार पार्टीको वर्तमान अवस्था, आन्तरिक विवाद, नेतृत्व व्यवस्थापन तथा विवाद समाधानका उपायबारे छलफल गर्न ‘बृहत युवा भेला’ आयोजना गरिएको हो।
‘यो बेला पार्टी कहाँ जाने भन्ने महत्वपूर्ण प्रश्न छ। पार्टी विभाजनको बाटोमा जाने कि एकताबद्ध भएर अगाडि बढ्ने भन्ने विषयमा गम्भीर छलफल आवश्यक भएकाले भेला आयोजना गरेका हौं,’ उनले भने।
भेलामा विशेष महाधिवेशनमा सहभागी नभएका युवा नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको आयोजकहरूले बताएका छन्। कार्यक्रममा कांग्रेसको भावी दिशा, संगठन सुदृढीकरण, आन्तरिक लोकतन्त्र र पुस्तान्तरणका विषयमा समेत छलफल गरिएको जनाइएको छ।
युवा भेलामा नेता शाहीका मुख्य मागहरू
- फर्जी विशेष महाधिवेशनबाट बनेको केन्द्रीय समिति खारेज गर्नुपर्ने।
- भ्रातृ संस्थामा भएका टीके नियुक्ति खारेज गरी निर्वाचनमार्फत नेतृत्व चयन गर्नुपर्ने।
- क्रियाशील सदस्यता अद्यावधिकका नाममा हुने धाँधली रोक्नुपर्ने र नवीकरण भइसकेका सदस्यतालाई मान्यता दिनुपर्ने।
- आगामी भदौभित्र पार्टीको महाधिवेशन सम्पन्न गर्नुपर्ने।
पार्टी नेतृत्व र जिम्मेवारी जेनजी (युवा) पुस्तालाई हस्तान्तरण गर्नुपर्ने।
प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार












प्रतिक्रिया