काठमाडौं। विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति सम्झौता’ मा पुगेका छन्।

दुवै देशले सबै मोर्चामा तत्काल र स्थायी रूपमा सैन्य कारबाही रोक्ने निर्णय गरेका छन्, जसलाई वैश्विक अर्थतन्त्र र मध्यपूर्वको स्थिरताका लागि एउता ठुलो उपलब्धिको रूपमा हेरिएको छ।

advertisement

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरानबीच ऐतिहासिक शान्ति सम्झौता भएको र यो लागू भइसकेको पुष्टि गरेका छन्। पाकिस्तान, कतार लगायतका देशहरूको मध्यस्थतामा यो सम्झौता सम्भव भएको हो। प्रधानमन्त्री सरिफका अनुसार आगामी शुक्रबार (जुन १९, २०२६) मा स्विट्जरल्यान्डमा यो सम्झौताको औपचारिक हस्ताक्षर समारोह तय गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँगको सम्झौता पूर्ण रूपमा सम्पन्न भएको घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत जानकारी दिँदै राष्ट्रपति ट्रम्पले भनेका छन्-“सबैलाई बधाई! म यसैमार्फत हर्मुज जलडमरूलाई नि:शुल्क रूपमा खुला गर्ने अनुमति दिन्छु र साथै इरानमाथि लगाइँदै आएको अमेरिकी नौसैनिक नाकाबन्दी पनि तुरुन्त हटाउने घोषणा गर्दछु। विश्वका जहाजहरू, आफ्ना इन्जिन सुरु गर, अब तेल बग्न देऊ!”

सन् २०२६ फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानको आणविक कार्यक्रम र सैन्य संरचनालाई लक्षित गरी संयुक्त हवाई आक्रमण गरेपछि यो युद्ध सुरु भएको थियो।

उक्त सुरुवाती आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनीसहित थुप्रै उच्च अधिकारीहरूको मृत्यु भएको थियो। जवाफमा इरानले इजरायल र मध्यपूर्वमा रहेका अमेरिकी सैन्य बेसहरूमा सयौँ मिसाइल र ड्रोन प्रहार गरेको थियो।

यसै युद्धका क्रममा इरानले विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल मार्ग ‘हर्मुज जलडमरू’ बन्द गरिदिएपछि विश्वभर इन्धन संकट र आर्थिक मन्दी छाएको थियो। बदलामा अप्रिल महिनादेखि अमेरिकाले इरानी बन्दरगाहहरूमा कडा नौसैनिक नाकाबन्दी लगाएको थियो।

यसैबीच, बेलायत, फ्रान्स, जर्मनी र इटालीले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौताको स्वागत गरेका छन्। बेलायती प्रधानमन्त्री लगायतका युरोपेली नेताहरूले हर्मुज जलडमरू पूर्ण रूपमा खुला हुनुपर्ने र स्वतन्त्र जहाज आवतजावत सुनिश्चित गरिनुपर्ने कुरामा जोड दिएका छन्।

इरानले आफ्नो आणविक कार्यक्रमका सन्दर्भमा चाल्ने कदमका आधारमा उनीहरूले इरानमाथि लगाइएका आर्थिक प्रतिबन्धहरू फुकुवा गर्न तयार रहेको बताएका छन्।

इरानी सञ्चारमाध्यमहरूका अनुसार इरानका उप-परराष्ट्रमन्त्री काजेम गारीबाबादीले सम्झौताको समझदारी पत्र टुङ्गिएको पुष्टि गरेका छन्। यद्यपि, इरानले यो सम्झौता ‘शत्रुमाथिको विश्वास’ नभई ‘अविश्वासकै वातावरणमा’ देशको हितका लागि तयार पारिएको बताएको छ। सम्झौताको पूर्ण पाठ शुक्रबार स्विट्जरल्यान्डमा हस्ताक्षर भएपछि मात्र सार्वजनिक गरिनेछ।

यो सम्झौतासँगै लेबनानमा जारी सैन्य कारबाही पनि रोकिने बताइएको छ, तर यसमा इजरायलको पूर्ण सहमति छ या छैन भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन। यसै हप्ता मध्यस्थकर्ताहरूले प्राविधिक विषयहरू टुङ्ग्याउन थप छलफल गर्नेछन्।

प्रकाशित मिति: १ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com