काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत ड्यानिएल मेउलीबीच शिक्षा क्षेत्रको सहकार्य, विकास साझेदारी तथा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ।

सोमबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा नेपालमा स्वीटजरल्याण्डले गर्दै आएको विकास सहयोग, विशेषगरी शिक्षा तथा प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा भइरहेको सहकार्यबारे विस्तृत कुराकानी भएको मन्त्रालयले जनाएको छ।

advertisement

भेटका क्रममा दुवै पक्षबीच नेपालको शिक्षा प्रणालीको सुधार, विकास सहायता परिचालन, सीपमूलक शिक्षा प्रवर्द्धन तथा शिक्षा क्षेत्रमा दीर्घकालीन साझेदारी विस्तारका विषयमा विचार आदानप्रदान भएको थियो।

स्वीटजरल्याण्ड लामो समयदेखि नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको प्रमुख विकास साझेदारमध्ये एक हो। विशेषगरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) मार्फत सञ्चालन भइरहेका विभिन्न कार्यक्रमहरूमा स्विस सरकारको सहयोग रहँदै आएको छ। हाल स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन (एसडीसी) को सहयोगमा राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली, दिगो तथा सम्मानजनक रोजगारीका लागि सीप अभिवृद्धि तथा युवामैत्री गुणस्तरीय प्राविधिक शिक्षा सम्बन्धी परियोजनाहरू सञ्चालनमा छन्।

भेटमा मन्त्री पोखरेलले नेपाल र स्वीटजरल्याण्डबीचको मित्रवत् सम्बन्ध सदैव सकारात्मक रहेको उल्लेख गर्दै नेपालको शिक्षा तथा विकास क्षेत्रमा निरन्तर सहयोग पुर्‍याएकोमा स्विस सरकारप्रति आभार व्यक्त गरे।

उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्सम्बन्धी कानुन संशोधनको प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै प्राविधिक शिक्षालाई समयसापेक्ष, रोजगारमुखी र प्रभावकारी बनाउन विज्ञहरूको सुझाव संकलन भइरहेको तथा सम्बन्धित विधेयक छिट्टै संसद्मा पेस गर्ने तयारी रहेको बताए।

मन्त्री पोखरेलले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा क्षेत्रमा स्विस सहयोग आगामी दिनमा पनि निरन्तर रहने अपेक्षा व्यक्त गर्दै डिजिटाइजेशन, समावेशी शिक्षा तथा आधुनिक प्रविधिमा आधारित शिक्षण प्रणालीका क्षेत्रमा समेत सहकार्य विस्तार गर्न सकिने धारणा राखे।

उनले सरकारले सातै प्रदेशमा विशेष अटिजम विद्यालय स्थापना गर्ने नीति कार्यान्वयनको चरणमा रहेको जानकारी दिँदै समावेशी शिक्षा र डिजिटल रूपान्तरणका क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता औँल्याए। विद्यालय तहदेखि नै सीप र रोजगारसँग जोडिएको शिक्षा प्रणाली विकास गर्नुपर्नेमा जोड दिँदै उनले काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको ‘बुक फ्री फ्राइडे’ कार्यक्रमलाई राष्ट्रिय स्तरमा विस्तार गर्ने विषयमा समेत सरकार अध्ययनरत रहेको बताए।

जवाफमा राजदूत मेउलीले नेपालको शिक्षा क्षेत्रमा स्वीटजरल्याण्डको सहयोग आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरिन्। उनले नेपाल सरकारले अघि सारेका शिक्षा सुधारका कार्यक्रम तथा नीतिहरूमा सहकार्य गर्न स्विस सरकार तयार रहेको बताइन्।

राजदूत मेउलीले हाल सञ्चालनमा रहेका तीनवटा शिक्षा परियोजनालाई एकीकृत गर्दै अझ प्रभावकारी र परिणाममुखी ढंगले अघि बढाउने तयारी भइरहेको जानकारीसमेत मन्त्री पोखरेललाई गराएकी थिइन्।

प्रकाशित मिति: १ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com