काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले ट्राफिक नियम उल्लंघन गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था आवश्यक रहेको बताएका छन्।
उनले हाल कायम रहेको ५ सयदेखि १ हजार ५ सय रुपैयाँसम्मको जरिवाना प्रभावकारी नभएको भन्दै त्यसलाई ५ हजारदेखि ५० हजार रुपैयाँसम्म पुर्याउनुपर्ने प्रस्ताव गरेका हुन्।
सङ्घीय संसद्को पूर्वाधार विकास समितिको बैठकमा ‘सार्वजनिक सवारी तथा ढुवानी व्यवस्थापन’ सम्बन्धी प्रस्तुति दिँदै एसएसपी काफ्लेले हालको जरिवाना प्रणालीले चालक तथा सवारीधनीलाई नियम पालना गराउन नसकेको बताए।
‘अहिलेको जरिवानाले कसैलाई डर भएन। नियम उल्लंघन गर्नेलाई ५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था आवश्यक छ,’ उनले भने।
उनका अनुसार जरिवाना रकम बढाइएमा चालकहरूमा नियम पालना गर्ने मनोवैज्ञानिक दबाब सिर्जना हुने र ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्ति नियन्त्रण गर्न सहयोग पुग्नेछ।
यसैबीच, एसएसपी काफ्लेले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन प्रणालीमा समयमै सुधार नगरे आगामी दुई वर्षभित्र अवस्था भयावह बन्न सक्ने चेतावनी पनि दिएका छन्।
प्रविधिमैत्री ट्राफिक व्यवस्थापनको अभावले समस्या थप जटिल बन्दै गएको उल्लेख गर्दै उनले भने, ‘यदि अहिलेको अवस्थामै चलिरहने र प्रविधिमा पर्याप्त लगानी नगर्ने हो भने आगामी दुई वर्षभित्र उपत्यकाका सडकमा हिँड्न समेत नसकिने अवस्था आउन सक्छ। सडक जामका कारण एम्बुलेन्ससमेत समयमा अस्पताल पुग्न नसक्ने अवस्था सिर्जना हुनेछ।’
उनले ट्राफिक व्यवस्थापनलाई आधुनिक प्रविधिसँग जोड्दै दीर्घकालीन सुधारका कार्यक्रम अघि बढाउन सरकारलाई आग्रह गरेका छन्।
प्रकाशित मिति: २ असार २०८३, मंगलबार













प्रतिक्रिया