काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले माइतीघर मण्डलामा लामो समयदेखि विभिन्न माग राख्दै धर्नामा बसेका नागरिकहरूको समस्या तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन्। उनले गृहमन्त्री सुधन गुरुङको ध्यानाकर्षण गराउँदै आन्दोलनरत नागरिकका गुनासा सुनेर यथाशीघ्र न्याय दिलाउन आग्रह गरेका हुन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले गृहमन्त्री गुरुङलाई ‘क्विक एक्सन मिनिस्टर’को संज्ञा दिँदै विगतमा उनले स्वयं विभिन्न स्थानमा पुगेर नागरिकका समस्या बुझ्ने प्रयास गरेको स्मरण गराए। माइतीघरमा पाल टाँगेर महिनौँदेखि न्यायको प्रतीक्षामा बसेका नागरिकका मागप्रति सरकारले संवेदनशील बन्नुपर्ने उनको भनाइ थियो।

advertisement

‘आन्दोलनरत नागरिकका समस्या बुझेर सरकारले तत्काल समाधानको पहल गर्नुपर्छ,’ राईले भने, ‘राज्यबाट न्यायको अपेक्षा गरेका नागरिकलाई लामो समयसम्म बेवास्ता गर्नु उचित हुँदैन।’

सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा व्यक्त गरेको सीमा सम्बन्धी अभिव्यक्तिप्रति पनि आपत्ति जनाए। उक्त अभिव्यक्ति तत्काल सच्याइनुपर्ने तथा संसद्को अभिलेखबाट हटाइनुपर्ने माग गर्दै उनले सभामुखले यस विषयमा आवश्यक निर्णय गर्ने विश्वास व्यक्त गरे। नेपालको भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा उनले जोड दिए।

त्यसैगरी, उनले रौतहटको गौर क्षेत्र नजिक भारततर्फ निर्माण गरिएको उच्च बाँधका कारण लालबकैया र बागमती नदीको प्राकृतिक बहाव प्रभावित भएको विषयमा सरकारको ध्यानाकर्षण गराए। यसले नेपाली भूभागमा डुबानको समस्या निम्त्याएको दाबी गर्दै उनले घटनाको वास्तविक अवस्था सार्वजनिक गर्न सरकारसँग माग गरे।

‘यदि भारतको भूभाग जोगाउने नाममा नेपाली भूमि डुबानमा पर्ने गरी कुनै सम्झौता वा व्यवस्था गरिएको छ भने त्यो राष्ट्रहितविपरीत हुनेछ,’ उनले भने, ‘यस विषयमा सरकारले गम्भीर छानबिन गरी आवश्यक कदम चाल्नुपर्छ।’

सांसद राईले सीमा, डुबान तथा नागरिकका न्यायसम्बन्धी विषयमा सरकार जिम्मेवार र सक्रिय बन्नुपर्ने आवश्यकता औँल्याए।

प्रकाशित मिति: २ असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com