काठमाडौं। मुस्ताङमा दुई सातादेखि बिवाइडी कम्पनीका चिनियाँ विद्युतीय सवारीसाधन सशस्त्र प्रहरीको नियन्त्रणमा रहेकामा कुनै कैफियत नदेखिएपछि फुकुवा गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाल ले जोमसोम र कोरलानाकामा नियन्त्रणमा लिएका ती सवारीसाधन आइतबार साँझदेखि केन्द्रीय निर्देशनअनुसार सम्बन्धित पक्षलाई जिम्मा लगाउँदै छाड्न थालेको हो।
मुस्ताङको उत्तरी कोरलानाका हुँदै गत जेठको दोस्रो र तेस्रो साता साइमन इन्कले खरिद गरी नेपाल भित्र्याएका ७७५ विद्युतीय सवारीसाधनमध्ये ६४९ वटाको मुस्ताङ भन्सार कार्यालय नेचुङबाट भन्सार जाँचपास भइसकेको थियो।
तर पैठारी प्रक्रियामा अनियमितता हुन सक्ने आशंकामा सशस्त्र प्रहरीले मुस्ताङको जोमसोममा २६६, कोरलानाकामा ३९४, कास्कीको हेमजामा ९८ र पर्वतको कुश्मामा १७ वटा सवारीसाधन नियन्त्रणमा लिएको थियो।
सवारीसाधनमा कुनै कैफियत छ वा छैन भन्ने यकिन गर्न अर्थ मन्त्रालय ले भन्सार विभागको मूल्यांकन शाखा प्रमुख भुपालराज शाक्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।
समितिले गत जेठ २१ गते विभिन्न स्थानमा पुगेर गरेको स्थलगत अनुगमन तथा अनुसन्धानपछि ती सवारीसाधनमा कुनै कैफियत नपाइएको प्रारम्भिक निष्कर्ष निकालेको थियो। सोही निष्कर्षका आधारमा सशस्त्र प्रहरीले नियन्त्रणमा रहेका सवारीसाधन फुकुवा गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्म का सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीका अनुसार जोमसोम बसपार्कमा राखिएका २६६ सवारीसाधनमध्ये आइतबार र सोमबारसम्म २२३ वटा गन्तव्यतर्फ पठाइसकिएको छ भने ४३ वटा अझै बाँकी छन्।
यसैगरी, कोरलानाकामा रहेका जाँचपास भइसकेका सवारीसाधन पनि क्रमशः गन्तव्यतर्फ पठाउन थालिएको छ। जाँचपास हुन बाँकी सवारीसाधनका लागि आवश्यक भन्सार प्रक्रिया पूरा गरी गन्तव्यमा लैजान अब कुनै अवरोध नरहेको सशस्त्र प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २ असार २०८३, मंगलबार













प्रतिक्रिया