काठमाडौं। बजेटमाथिको छलफल चलिरहेका बेला प्रधानमन्त्री र मन्त्रीहरूको निरन्तर अनुपस्थितिले संसद् बैठक पटक-पटक स्थगित हुन थालेको छ ।
पुराना दलभन्दा फरक ठानिने रास्वपा नेतृत्वको सरकारमा समेत प्रधानमन्त्री र मन्त्रीहरू बैठकमा अनुपस्थित हुने पुरानो परम्परा कायम रहेको देखिएको हो । जसका कारण सोमबार र मंगलबार लगातार सांसदहरूले बैठकमा मन्त्रीहरूको खोजी गर्नुपरेको थियो ।
मन्त्रालयगत बजेट छलफलका क्रममा सम्बन्धित मन्त्रीहरू नै अनुपस्थित भएको भन्दै विपक्षी सांसदहरूले मन्त्रीको खोजी गरेपछि सभामुख डोलप्रसाद अर्यालले दुवै दिन १५ मिनेटका लागि बैठक स्थगित गर्न बाध्य भए ।
मंगलबारको बैठकमा सांसदहरूले रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको बजेटमाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह उपस्थित हुनुपर्ने माग अघि सारेका थिए ।
उनीहरूले प्रतिनिधिसभा नियमावलीमा सम्बन्धित मन्त्रीको उपस्थिति अनिवार्य रहेको विषय उठाउँदै सम्बन्धित मन्त्री बैठकमा उपस्थित हुनुपर्ने व्यवस्थाका कारण सभामुखले बैठक स्थगित गरेर मन्त्रीको खोजीमा लाग्नुपरेको हो ।
प्रतिनिधिसभा नियमावलीको नियम ६ को उपनियम ५ मा भनिएको छ, ‘बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्नेछ र कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदा सम्बन्धित मन्त्री समेत अनिवार्य उपस्थित हुनुपर्नेछ ।’
यही व्यवस्था अनुसार मंगलबार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको बजेटमाथि छलफल गर्ने कार्यसूची तय छ । तर, मन्त्रीहरू उपस्थित नभएको भन्दै बैठक स्थगित हुन पुगेको थियो ।
प्रकाशित मिति: २ असार २०८३, मंगलबार












प्रतिक्रिया