काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले मुलुक लोकतान्त्रिक मूल्य–मान्यतामाथि चुनौती थपिँदै जाने तथा गम्भीर भूराजनीतिक जटिलतामा फस्ने जोखिम बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता ज्ञवालीले देशका महत्वपूर्ण राष्ट्रिय मुद्दाहरू ओझेलमा पर्दै गएको र सरकारको ध्यान प्राथमिक समस्यातर्फ केन्द्रित हुन नसकेको टिप्पणी गरेका छन्।
उनले सीमाक्षेत्रमा चिया निर्यात प्रभावित भएको, सुकुम्बासीका समस्या समाधान हुन नसकेको, होल्डिङ सेन्टर व्यवस्थापन प्रभावकारी नभएको, कृषि क्षेत्रमा मल अभाव कायम रहेको तथा महँगी नियन्त्रणमा उल्लेखनीय प्रगति नदेखिएको उल्लेख गर्दै यस्ता विषयमा सरकार गम्भीर बन्नुपर्ने बताए।
ज्ञवालीले लोकतान्त्रिक संस्थाहरूप्रति सम्मान र संवैधानिक प्रक्रियाको पालना कमजोर बन्दै गएको दाबी पनि गरेका छन्। राष्ट्रपति संस्थाको गरिमामाथि प्रश्न उठ्ने अवस्था, संसद्को भूमिकाको अवमूल्यन, मतदाताप्रतिको उत्तरदायित्वमा कमी, लोकतान्त्रिक अधिकारहरूको संकुचन तथा संवैधानिक निकायहरूमाथि हस्तक्षेपजस्ता प्रवृत्तिले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने उनको भनाइ छ।
उनले प्रमुख राजनीतिक दलहरूभित्र देखिएका आन्तरिक मतभेदलाई स्वाभाविक राजनीतिक प्रक्रिया भन्दै त्यसको समाधान पार्टीभित्रकै लोकतान्त्रिक विधिबाट खोजिनुपर्ने धारणा व्यक्त गरे। एमाले, कांग्रेसलगायत दलहरू आन्तरिक चुनौतीसँग जुधिरहेका भए पनि राष्ट्रिय मुद्दाहरूलाई प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिएका छन्।
‘राजनीतिक दलहरूभित्र नीति, संगठन, नेतृत्व र कार्यशैलीका विषयमा मतान्तर देखिनु अस्वाभाविक होइन,’ उनले लेखेका छन्, ‘तर त्यस्ता विषयमा केन्द्रित भइरहँदा राष्ट्रिय हितसँग जोडिएका महत्वपूर्ण सवालहरू ओझेलमा पर्नु हुँदैन।’
सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै ज्ञवालीले जनजीविकासँग प्रत्यक्ष सम्बन्ध राख्ने विषयभन्दा अन्य गतिविधिमा बढी ध्यान केन्द्रित गरिएको आरोप लगाए। उनले आम नागरिकका समस्या समाधान, आर्थिक गतिविधिको प्रवर्द्धन तथा राष्ट्रिय हितको संरक्षणमा सरकार थप जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याए।
देशले सामना गरिरहेका चुनौतीहरूबारे सबै राजनीतिक शक्ति संवेदनशील हुनुपर्ने र राष्ट्रिय मुद्दामा साझा दायित्वबोधका साथ अघि बढ्नुपर्ने उनको भनाइ छ।
प्रकाशित मिति: २ असार २०८३, मंगलबार












प्रतिक्रिया