काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा वैदेशिक रोजगारीका लागि ७ लाख २२ हजार ८४१ नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार जेठ महिनामा मात्र ६१ हजार ७२ जनाले श्रम स्वीकृति लिएर विदेश जाने प्रक्रिया पूरा गरेका छन् ।

जेठ महिनामा विदेशिनेमध्ये ५३ हजार ६९८ पुरुष र ७ हजार ३७४ महिला रहेका छन् ।

advertisement

वैदेशिक रोजगारीका प्रमुख गन्तव्यमा मलेसिया पहिलो स्थानमा रहेको छ । मलेसियाका लागि १४ हजार १९२ जनाले श्रम स्वीकृति लिएका छन् । त्यसपछि संयुक्त अरब इमिरेट्स (यूएई) मा १२ हजार ४५५, कतारमा १० हजार २१०, साउदी अरबमा ७ हजार ५१९ र रोमानियामा २ हजार ५१५ जना नेपाली गएका छन् ।

त्यस्तै जापानका लागि १ हजार ७५९ र कुवेतका लागि १ हजार ९६७ जनाले श्रम स्वीकृति लिएका छन् । पछिल्लो समय मलेसिया र खाडी मुलुकसँगै रोमानिया, जापान र साइप्रसजस्ता युरोपेली देशतर्फ पनि नेपाली श्रमिकको आकर्षण बढ्दै गएको देखिएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेमध्ये ३७ हजार ३९१ जना दक्ष श्रमिक रहेका छन् भने १४ हजार ९९४ जना अदक्ष श्रमिक रहेका छन् ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या उच्च रहँदा रेमिट्यान्स अर्थतन्त्रको प्रमुख आधार बनेको छ । तर अदक्ष श्रमिकको संख्या अझै उल्लेखनीय रहेकाले देशभित्रै सीप विकास कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ ।

प्रकाशित मिति: २ असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com