काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालको निष्पक्षतामाथि प्रश्न उठेपछि उनले त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

सीमा विवादसम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अभिव्यक्तिमाथि सभामुखले कुनै रुलिङ नगरेको भन्दै नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले संसद् बैठकमा सभामुखको भूमिकामाथि प्रश्न उठाएका थिए।

advertisement

बैठकमा बोल्दै यादवले सभामुख अर्यालको विगतको राजनीतिक सम्बन्धतर्फ संकेत गर्दै उनी अझै पनि पूर्वआबद्ध दलसँग निष्पक्ष दूरी कायम गर्न सफल भएका छन् वा छैनन् भन्ने आशंका व्यक्त गरेका थिए।

उनले भनेका थिए, “सभामुख महोदयसँग मेरो एउटा प्रश्न छ। यो गरिमामय आसनमा बस्नुअघि तपाईं एउटा राजनीतिक दलसँग आबद्ध हुनुहुन्थ्यो। के सभामुख बनेपछि पनि तपाईंले त्यो दलसँगको सम्बन्ध पूर्ण रूपमा अन्त्य गर्न सक्नुभएको छैन ?”

यादवको अभिव्यक्तिपछि संसद्मा तत्काल नियमापत्तिको विषय उठेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले प्रतिनिधिसभा नियमावलीको व्यवस्था स्मरण गराउँदै सभामुखको आचरणबारे आलोचना गर्न विशेष प्रक्रिया आवश्यक हुने बताए।

कार्कीले प्रतिनिधिसभा नियमावलीको नियम २१ (ख) अनुसार सभामुखले पदअनुकूल आचरण नगरेको भन्ने प्रस्तावमाथिको छलफल बाहेक सभामुखको आचरणको आलोचना गर्न नमिल्ने व्यवस्था रहेको उल्लेख गरे।

त्यसपछि सभामुख अर्यालले उक्त विषयमा आफ्नो ध्यानाकर्षण भएको जानकारी गराउँदै सांसदहरूलाई नियमावलीको पालना गर्न आग्रह गरे।

सभामुख अर्यालले भने, “आज माननीय सदस्य चन्द्रमोहन यादवले आफ्नो मन्तव्यका क्रममा प्रयोग गर्नुभएको शब्दप्रति मेरो ध्यानाकर्षण भएको छ। यस सन्दर्भमा म उहाँलाई प्रतिनिधिसभा नियमावलीको नियम २१ तर्फ ध्यानाकर्षण गराउन चाहन्छु।”

प्रतिनिधिसभा नियमावलीको नियम २१ मा संसद्को छलफलमा सहभागी हुने सदस्यहरूले पालना गर्नुपर्ने आचरणसम्बन्धी व्यवस्था उल्लेख गरिएको छ। उक्त नियमको उपनियम (ख) मा सभामुखले पदअनुकूल आचरण नगरेको भन्ने प्रस्तावमाथिको छलफल बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने व्यवस्था छ।

नियमावलीले संसद्मा अशिष्ट, अश्लील, अपमानजनक वा आपत्तिजनक अभिव्यक्ति प्रयोग गर्न निषेध गरेको छ। साथै सार्वजनिक शिष्टाचार र नैतिकताको प्रतिकूल हुने, कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने तथा असंसदीय शब्द प्रयोग गर्ने कार्य पनि निषेध गरिएको छ।

प्रकाशित मिति: ३ असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com