काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभाको बैठकमा विरोध जनाउँदै संसद्को बेल घेराउ गरेका छन्।
विनियोजन विधेयक २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका बजेट शीर्षकमाथि भइरहेको छलफलका क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले उठाइएका प्रश्नहरूको सन्तोषजनक जवाफ नदिएको आरोप लगाउँदै उक्त पार्टीका सांसदहरूले विरोध प्रदर्शन गरेका हुन्।
छलफलका क्रममा सांसदहरूले मन्त्रीको जवाफप्रति असन्तुष्टि व्यक्त गर्दै सभाको ध्यानाकर्षण गराएका थिए। त्यसपछि उनीहरू आ–आफ्नो आसनबाट उठेर बेल घेराउ गरेका हुन् ।
यस क्रममा सभामुख डोलप्रसाद (डीपी) अर्यालले सांसदहरूलाई संसदीय मर्यादा र नियमको पालना गर्न आग्रह गरेका छन्।
सभामुख अर्यालले संसद्को गरिमा र अनुशासन कायम राख्न सबै सांसदहरू जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै बेल घेराउ गर्ने कार्य संसदीय मर्यादाअनुकूल नभएको बताए। उनले विरोधमा उत्रिएका सांसदहरूलाई संयमित हुन तथा संसदीय प्रक्रियाअनुसार आफ्नो असहमति व्यक्त गर्न सचेतसमेत गराए।
संसदीय कार्यवाहीका क्रममा उठेका विषयहरूलाई नियमसम्मत ढंगले अघि बढाउनुपर्नेमा जोड दिँदै सभामुखले बैठकको मर्यादा कायम राख्न सबै पक्षलाई आग्रह गरेका छन्।
प्रकाशित मिति: ३ असार २०८३, बुधबार













प्रतिक्रिया