काठमाडौँ । नवलपरासीस्थित महेन्द्र माध्यमिक विद्यालयको जग्गाबाट सम्झौताभन्दा बढी माटो उत्खनन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा खेपिरहेका विद्यालय व्यवस्थापन समिति अध्यक्षसहित दुई जनालाई विशेष अदालतले सफाइ दिएको छ।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले सरावल गाउँपालिका–३ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण चौधरी तथा निर्माण व्यवसायी दिनेश यादवलाई भ्रष्टाचार अभियोगबाट निर्दोष ठहर गरेको हो।

advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयको स्वामित्वमा रहेको जग्गाबाट सम्झौतामा तोकिएको परिमाणभन्दा बढी माटो उत्खनन गरी राज्यलाई हानि पुर्‍याएको आरोप लगाउँदै दुवै जनाविरुद्ध १० लाख ८ हजार रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

विद्यालय व्यवस्थापन समिति र निर्माण व्यवसायी यादवबीच २०८० फागुन १५ गते माटो उत्खनन तथा निकासीसम्बन्धी सम्झौता भएको थियो। त्यसपछि सरावल गाउँपालिकाले गठन गरेको प्राविधिक टोलीको प्रतिवेदनका आधारमा सम्झौताभन्दा बढी माटो निकालिएको दाबी गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको थियो।

तर, सुनुवाइका क्रममा प्रतिवादी दिनेश यादवले आफूले सम्झौताभन्दा बढी माटो ननिकालेको र काम सम्पन्न गरेबापतको भुक्तानीसमेत लिन बाँकी रहेको जिकिर गरेका थिए। प्रस्तुत प्रमाण र तथ्यहरूको मूल्याङ्कनपछि विशेष अदालतले दुवै प्रतिवादीलाई सफाइ दिने फैसला सुनाएको हो।

प्रकाशित मिति: ३ असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com