काठमाडौँ। माछापोखरीबाट साइबर ब्यूरोले सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गर्ने एक दम्पतीलाई पक्राउ गरेको छ। उनीहरूले टिकटक र ह्वाट्सएपमार्फत विवाहको झुटो प्रलोभन देखाएर पीडितबाट १५ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोप छ।
पक्राउ पर्नेमा स्याङ्जा भीरकोट–२ का ३९ वर्षीय सञ्जीव नेपाली र उनकी श्रीमती ३३ वर्षीया सरिता पराजुली रहेका छन्। सञ्जीवले टिकटकमा ‘प्रिन्स तामाङ’ नामको फेक आइडी बनाएर आफू अमेरिकामा रहेको र विवाह गरी उतै लैजाने प्रलोभन देखाउने गरेका थिए।
ठगीलाई विश्वसनीय बनाउन उनले आफ्नी श्रीमतीलाई ‘सरगम तामाङ’ नामकी बहिनीका रूपमा प्रस्तुत गराएका थिए। सोही योजनाअनुसार दुवै जनाले पीडितसँग पटक–पटक गरी १५ लाख १० हजार ५ सय रुपैयाँ असुलेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
पीडितको उजुरीपछि गरिएको डिजिटल अनुसन्धानका आधारमा उनीहरूको पहिचान खुलेको हो। दुवै जनालाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद लिएर हिरासतमा राखी थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।
प्रकाशित मिति: ३ असार २०८३, बुधबार













प्रतिक्रिया