काठमाडौं । फिफा विश्वकप फुटबलअन्तर्गत आज राति पोर्चुगल र कंगो डीआरबीच प्रतिस्पर्धा हुँदैछ। समूह ‘के’ अन्तर्गतको यो खेल नेपाली समयअनुसार राति पौने ११ बजे सुरु हुनेछ। विश्वकप इतिहासमा यी दुई टोली पहिलोपटक एकअर्काविरुद्ध मैदानमा उत्रिन लागेका हुन्।
फिफा वरीयतामा पाँचौँ स्थानमा रहेको पोर्चुगलको टोलीमा क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेज र रुबेन डियाजजस्ता स्टार खेलाडी छन्। ४१ वर्षीय रोनाल्डोले आफ्नो छैटौँ विश्वकप खेलिरहेका छन्, तर अहिलेसम्म विश्वकप उपाधि जित्ने सपना पूरा गर्न सकेका छैनन्।
यता, फिफा वरीयतामा ४५औँ स्थानमा रहेको कंगो ५२ वर्षपछि विश्वकपमा फर्किएको हो। यसअघि सन् १९७४ मा जायर नामबाट विश्वकप खेलेको टोली अहिले कंगोका रूपमा पुनः विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा देखिएको छ।
आज बिहान लियोनल मेस्सीको ह्याट्रिकको मद्दतमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गरेपछि फुटबल समर्थकहरूको ध्यान अहिले रोनाल्डोतर्फ केन्द्रित भएको छ। समर्थकहरूले मेस्सीको जस्तै प्रभावशाली प्रदर्शन रोनाल्डोबाट पनि अपेक्षा गरेका छन्।
प्रकाशित मिति: ३ असार २०८३, बुधबार













प्रतिक्रिया