काठमाडौं । विशेष अदालतको आदेशपछि बिचौलिया दीपक भट्ट र व्यवसायी सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा दुवैजनालाई बुधबार कारागार चलान गर्ने आदेश दिइएको हो।
न्यायाधीश सुदर्शनदेव भट्ट, नारायण प्रसाद कोइराला र विदुर कोइरालाको इजलासले बयान र थुनछेक बहसपछि प्रमाणका आधारमा उनीहरूलाई थुनामा राख्नुपर्ने ठहर गरेको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले गत साता उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो।
अभियोग अनुसार दीपक भट्टमाथि करिब २६ अर्ब रुपैयाँ र सुलभ अग्रवालमाथि करिब २५ अर्ब रुपैयाँ बिगो दाबी गरिएको छ। उनीहरूले बिमा, धितोपत्र तथा बैंकिङ क्षेत्रमार्फत अवैध रूपमा आर्जन गरिएको सम्पत्तिलाई शुद्धीकरण गरेको आरोप लगाइएको छ।
यसअघि नै उनीहरूमाथि बिमा, धितोपत्र र बैंकिङसम्बन्धी विभिन्न मुद्दा जिल्ला र उच्च अदालतमा विचाराधीन छन्। राज्य संयन्त्रको आडमा ठूलो वित्तीय अपचलन भएको भन्दै थप अनुसन्धान पनि जारी रहेको जनाइएको छ।
प्रकाशित मिति: ३ असार २०८३, बुधबार












प्रतिक्रिया