काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने भएका छन्।
संसद्को कार्यसूचीअनुसार प्रधानमन्त्रीको कार्यक्षेत्रअन्तर्गत पर्ने मन्त्रालय तथा निकायहरूको बजेटमाथि भएको छलफलका क्रममा उठेका जिज्ञासा र प्रश्नहरूको सम्बोधन अर्थमन्त्री वाग्लेले गर्नेछन्।
प्रधानमन्त्री शाहले हाल रक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका छन्। त्यसकारण रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरूले व्यक्त गरेका धारणा तथा उठाएका प्रश्नहरूको जवाफ सामान्यतया प्रधानमन्त्री स्वयंले दिनुपर्ने अवस्था रहे पनि यसपटक उक्त जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिइएको हो।
रक्षा मन्त्रालयबाहेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय तथा उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित बजेट शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ पनि अर्थमन्त्री वाग्लेले नै दिने कार्यक्रम तय भएको छ।
यसै क्रममा अर्थमन्त्री वाग्लेले अर्थ मन्त्रालयसँग सम्बन्धित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको समेत जवाफ दिने कार्यसूची रहेको छ।
यसअघि सरकारको नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलका क्रममा पनि प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले नै छलफल सुनेका तथा जवाफ दिएका थिए। बजेटमाथिको छलफलमा समेत प्रधानमन्त्रीले आफ्नो प्रतिनिधिका रूपमा अर्थमन्त्रीलाई जवाफ दिने जिम्मेवारी सुम्पिएको बताइएको छ।
संसदमा जारी बजेटमाथिको छलफल अन्तिम चरणमा पुग्दै गर्दा विभिन्न मन्त्रालय र संवैधानिक निकायहरूको कार्यक्रम, प्राथमिकता तथा खर्च व्यवस्थापनबारे सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने क्रम जारी छ।
प्रकाशित मिति: ४ असार २०८३, बिहिबार













प्रतिक्रिया