काठमाडौं । ई-पासपोर्ट खरिद प्रक्रियामा अनियमितता भएको आरोपसम्बन्धी अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बयानका लागि उपस्थित हुन निर्देशन दिएको छ।

आयोगको टोलीले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२ स्थित उनको निवासमा पुगेर बयानका लागि उपस्थित हुनुपर्ने सूचना (म्याद) तामेल गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ को प्रावधानअनुसार जारी गरिएको सूचनामा सूचना बुझिएको वा घरदैलोमा टाँस भएको मितिबाट बाटोको म्यादबाहेक तीन दिनभित्र आयोगको टंगालस्थित कार्यालयमा उपस्थित हुन भनिएको छ।

advertisement

आयोगका अनुसार राणा हाल उपचारका क्रममा विदेशमा रहेकाले स्थानीय जनप्रतिनिधिको रोहबरमा घरमै सूचना टाँस गरी कानुनी प्रक्रिया पूरा गरिएको हो।

राहदानी छपाइ तथा खरिदसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै परेको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको आयोगले जनाएको छ। सोही अनुसन्धानका क्रममा तत्कालीन मन्त्री राणाको भूमिकासमेत अध्ययनको दायरामा परेको बताइएको छ।

यस प्रकरणमा आयोगले यसअघि नै राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनीलकुमार केसी र विभागका तत्कालीन लेखा प्रमुख तुलसीप्रसाद आचार्यलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइसकेको छ। उनीहरूविरुद्ध विशेष अदालतबाट थुनामा राखेर अनुसन्धान गर्न अनुमति समेत प्राप्त भइसकेको आयोगले जनाएको छ।

आयोगले सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘राहदानी छपाइसम्बन्धी कार्यमा भ्रष्टाचारजन्य कसुर भएको भन्ने उजुरीको अनुसन्धानका क्रममा तपाईंसँग बयान लिनुपर्ने भएकाले टंगालस्थित आयोगको कार्यालयमा उपस्थित हुन अनुरोध गरिन्छ।’

डा. राणा र उनका पति तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गत फागुन १३ गते उपचारका लागि सिंगापुर गएका थिए। उनी हाल हङकङमा रहेको बताइएको छ।

आयोगले सूचनाको तामेली प्रक्रिया स्थानीय प्रतिनिधिको उपस्थितिमा कानुनअनुसार सम्पन्न गरिएको स्पष्ट पारेको छ।

प्रकाशित मिति: ४ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com