काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी विधानमा ‘वरिष्ठ नेता’ पदलाई औपचारिक रूपमा समावेश गर्ने निर्णय गरेको छ। बिहीबार बसेको पार्टी सचिवालय बैठकले आगामी प्रथम महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्तावमार्फत उक्त व्यवस्था समेट्ने निर्णय गरेको हो।
पार्टी स्रोतका अनुसार वरिष्ठ नेताको पदका लागि निर्वाचन प्रक्रिया नहुने र उक्त पदमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सर्वसम्मत रूपमा चयन हुने वातावरण बनाइएको छ। वरिष्ठ नेता पदलाई कार्यकारी जिम्मेवारीभन्दा बढी पार्टीको वरीयता र राजनीतिक नेतृत्वको सम्मानजनक हैसियतका रूपमा परिभाषित गरिएको बताइएको छ।
रास्वपाका एक नेताका अनुसार विधान संशोधनपछि वरिष्ठ नेता पार्टीको शीर्ष तहको नेतृत्व संरचनामा रहनेछन्। उनले पूर्वसभापतिलाई समेत उक्त पदमा समेट्ने विषयमा छलफल भए पनि हालका लागि स्वतः वरिष्ठ नेता रहने व्यवस्था प्रस्ताव गरिएको जानकारी दिए।
गत निर्वाचनअघि बालेन समूह रास्वपामा समाहित भएपछि पार्टीभित्र नयाँ नेतृत्व संरचनाको आवश्यकता महसुस गरिएको थियो। त्यसक्रममा सभापति रवि लामिछानेपछि दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेता पदको अवधारणा अघि सारिएको बताइन्छ।
यसैबीच, सचिवालय बैठकले पार्टीको केन्द्रीय संरचना विस्तार गर्ने निर्णय पनि गरेको छ। महाधिवेशनपछि सचिवालय सदस्य संख्या हालको २५ बाट बढाएर ३३ पुर्याइने भएको छ।
त्यसैगरी, सभापतिले मनोनयन गर्ने केन्द्रीय सदस्यको संख्या ५१ पुर्याउने, केन्द्रीय पदाधिकारीको संख्या १३ बाट १९ पुर्याउने तथा सात प्रदेशसहित केन्द्रीय समितिको आकार १२९ बाट बढाएर १५८ सदस्यीय बनाउने प्रस्ताव पनि स्वीकृत गरिएको छ।
रास्वपाले संगठन विस्तार, जिम्मेवारीको बाँडफाँड र नेतृत्व संरचनालाई थप व्यवस्थित बनाउन यी संशोधन प्रस्ताव महाधिवेशनमा पेश गर्ने तयारी गरेको जनाएको छ।
प्रकाशित मिति: ४ असार २०८३, बिहिबार












प्रतिक्रिया