काठमाडौं । नेपाली कांग्रेसका सांसद खड्कबहादुर बुढाले सिंहदरबारभित्र अदृश्य शक्तिको प्रभाव बढ्दै गएको आरोप लगाउँदै सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बुढाले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारप्रति संकेत गर्दै संवैधानिक संस्थामाथि अनुचित दबाब सिर्जना गर्ने प्रयास भइरहेको दाबी गरे।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लामो समयसम्म राखेर विशेष व्यक्तिविरुद्ध कारबाही गर्न दबाब दिइएको चर्चा सार्वजनिक रूपमा भइरहेको उल्लेख गर्दै त्यसबारे स्पष्टता आवश्यक रहेको बताए।
‘अख्तियारका अधिकारीहरूलाई करिब नौ घण्टासम्म प्रधानमन्त्री कार्यालयमा राखेर कसैविरुद्ध पक्राउ पुर्जी जारी गर्न निर्देशन दिइएको भन्ने कुरा सुनिनु गम्भीर विषय हो। यो विधिको शासनअनुसारको अभ्यास हो कि राज्य संयन्त्रलाई दबाबमा राख्ने प्रयास हो ?’ उनले प्रश्न गरे।
बुढाले अख्तियार सरकारको मातहतमा रहने निकाय नभई स्वतन्त्र संवैधानिक संस्था भएको स्मरण गराउँदै यसको भूमिका राज्य शक्तिमाथि निगरानी राख्ने र सन्तुलन कायम गर्ने रहेको बताए। ‘अख्तियार प्रधानमन्त्री कार्यालयको कुनै सतर्कता केन्द्र होइन, यो संविधानले सुनिश्चित गरेको स्वतन्त्र संवैधानिक अङ्ग हो,’ उनले भने।
भ्रष्टाचारसम्बन्धी कुनै पनि आरोप वा अनुसन्धानमा कानुनी प्रक्रिया, प्रमाण र विधिको शासनलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो। कांग्रेसका नेता, पूर्वप्रधानमन्त्री वा वर्तमान पदाधिकारी जोसुकै संलग्न भए पनि अनुसन्धान र कारबाही कानुनसम्मत ढंगले अघि बढ्नुपर्ने उनले बताए।
सांसद बुढाले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै बजेट तथा सीमा विवादजस्ता संवेदनशील विषयमा संसद्मा उपस्थित भएर स्पष्ट धारणा राख्न आग्रह गरे। यस्ता विषयमा मौन बस्नु वा संसद्को सामना नगर्नु जनप्रतिनिधिमूलक व्यवस्थाको मर्मविपरीत हुने उनको तर्क थियो।
प्रकाशित मिति: ५ असार २०८३, शुक्रबार













प्रतिक्रिया