काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राईले सरकार र सभामुखको भूमिकाप्रति असन्तुष्टि जनाउँदै संसद्को कार्यप्रणालीमाथि गम्भीर प्रश्न उठाएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले प्रतिपक्षी दलहरूको आवाजलाई बेवास्ता गर्दै सत्तापक्ष एकतर्फी रूपमा अघि बढिरहेको आरोप लगाए। उनले संसद्भित्र उठाइएका गम्भीर विषयमा पर्याप्त सुनुवाइ नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराए।

advertisement

राईले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त भनाइ सच्याउन र संसद्को अभिलेखबाट हटाउन आफूहरूले निरन्तर माग गर्दै आएको बताए। यस विषयमा प्रतिपक्षले १६ दिनदेखि सदनमा प्लेकार्डसहित विरोध जनाइरहे पनि कुनै ठोस सुनुवाइ नभएको उनको गुनासो थियो।

‘प्रधानमन्त्रीले प्रयोग गरेको राष्ट्रहितविपरीत देखिने शब्द अभिलेखबाट हटाउन पटक–पटक आग्रह गरिएको छ, तर त्यसतर्फ कुनै पहल भएको देखिँदैन,’ उनले भने।

सांसद राईले बजेट निर्माण तथा वितरण प्रक्रियामा देखिएका कमजोरीप्रति पनि सरकारको ध्यानाकर्षण गराए। उनले रक्षा मन्त्रालयसँग सम्बन्धित बजेट पुस्तिका (रेड बुक) उपलब्ध नगराई बजेटमाथिको छलफल सम्पन्न गरिएको भन्दै त्यसबारे स्पष्ट जवाफ दिन सरकारसँग माग गरे।

त्यस्तै, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको बजेट विनियोजनमा समेत गम्भीर असंगति देखिएको उनको दाबी छ। कुल बजेटमध्ये ठूलो रकमको खर्च विवरण स्पष्ट रूपमा उल्लेख नगरिएको भन्दै उनले पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठाए।

उनका अनुसार ५ अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको देखिए पनि त्यसको सानो हिस्साको मात्रै स्पष्ट विवरण सार्वजनिक गरिएको छ भने बाँकी रकमको उपयोगबारे पर्याप्त जानकारी उपलब्ध छैन।

सांसद राईले सार्वजनिक स्रोत र बजेट व्यवस्थापनमा यस्ता त्रुटि तथा अस्पष्टतालाई सामान्य रूपमा लिन नसकिने उल्लेख गर्दै सरकार थप जिम्मेवार र पारदर्शी बन्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: ५ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com