काठमाडौं । इरानी संसदको राष्ट्रिय सुरक्षा आयोगका प्रमुख इब्राहिम अजीजीले अमेरिका–इरानबीच भएको शान्ति सम्झौताको समझदारीपत्र (एमओयू) कार्यान्वयनमा अमेरिकी पक्ष गम्भीर नदेखिएको आरोप लगाएका छन्।

सामाजिक सञ्जाल एक्समार्फत उनले एमओयूको पहिलो शर्त नै कार्यान्वयन हुन नसक्नुले अमेरिकी पक्षमा इरानी जनताको विश्वास जित्ने इच्छाशक्तिको अभाव देखिएको बताएका छन्। अजीजीले चेतावनी दिँदै भनेका छन्, “यदि अवस्था यस्तै रहिरह्यो भने अमेरिकाले यसको ठूलो मूल्य चुकाउनुपर्नेछ। सम्झौताका वाचाहरू उल्लंघन गरिएको विषयमा इरानले बुद्धिमानीपूर्ण र उपयुक्त जवाफ दिनेछ।”

advertisement

उनले इरान आफ्नो अडानमा दृढ रहेको उल्लेख गर्दै आवश्यक परे उपयुक्त कदम चालिने बताएका छन्।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरान आफैं वार्ताका लागि आएको दाबी गरेका छन्। उनले इरानलाई कुनै आर्थिक सहायता नदिइने स्पष्ट गर्दै “एक पैसा पनि दिइने छैन” भनेका छन्।

उता अमेरिकी उपराष्ट्रपति जेडी भान्सको स्विट्जरल्यान्ड भ्रमण स्थगित भएपछि अमेरिका र इरानबीच हुने भनिएको प्रत्यक्ष वार्ताको अर्को चरण पनि पछि सरेको छ। ह्वाइट हाउसले भान्स वार्ताका लागि स्विट्जरल्यान्ड नजाने जनाएको छ।

यसअघि दुवै पक्षबीच युद्धविरामलाई थप मजबुत बनाउने उद्देश्यले १४ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको थियो। सम्झौताअनुसार इरानले परमाणु हतियार विकास नगर्ने प्रतिबद्धता जनाएको छ भने इरानको पुनर्निर्माण तथा आर्थिक विकासका लागि ३०० अर्ब अमेरिकी डलरको कोष स्थापना गर्ने प्रस्ताव गरिएको छ। साथै इरानी बन्दरगाहहरूमा लगाइएको नौसैनिक नाकाबन्दी हटाउने व्यवस्था पनि समावेश गरिएको छ।

तर आर्थिक सहयोग तथा सम्झौताका विभिन्न बुँदाको कार्यान्वयनबारे अझै मतभेद कायम रहेकाले आगामी वार्ताको भविष्य अन्योलपूर्ण बनेको छ। पछिल्ला अभिव्यक्तिहरूले अमेरिका र इरानबीचको अविश्वास अझै हट्न नसकेको संकेत गरेका छन्।

प्रकाशित मिति: ६ असार २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com