काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री डा. मुकुल ढकालले पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा आफूलाई निम्तो पत्रसमेत नदिइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै ढकालले पार्टी स्थापनाका कठिन दिनहरूको स्मरण गरेका छन् । ५०० वटा नागरिकता जुटाउन समेत संघर्ष गर्नुपरेको समयदेखि आज पार्टी दुई तिहाइ जनमतसहित सरकारमा पुग्दासम्मको यात्रालाई उनले ‘मानसपटलमा जीवन्त रहने इतिहास’ भनेका छन् ।
पार्टी स्थापना गर्ने व्यक्ति नै ऐतिहासिक महाधिवेशनको निम्तो सूचीमा नपर्नु विडम्बनापूर्ण रहेको उनको टिप्पणी छ ।
उनले लेखेका छन्, ‘विडम्बना, पार्टीलाई ‘फ…’ लेख्ने व्यक्ति प्रधानमन्त्री बनिसक्दा, पार्टी स्थापना गर्ने म भने महाधिवेशनको निम्तो सूचीमा समेत परिनँ ।’
पार्टीविरोधी गतिविधिको आरोपमा रास्वपाबाट निकालिएका ढकालले आफ्नो भौतिक उपस्थिति नभए पनि आफ्ना विचार र सिद्धान्तले स्थान ओगट्ने कुरा महत्त्वपूर्ण हुने बताएका छन् । आफू चितवनमा नभए पनि महाधिवेशनले लिने सही कार्यदिशामा आफ्नो समर्थन रहने उनको भनाइ छ ।
महाधिवेशनमा सहभागी ४ हजार प्रतिनिधिहरूलाई सम्बोधन गर्दै डा. ढकालले पार्टीलाई व्यक्ति र पदको वरिपरि मात्र नघुमाउन आग्रह गरेका छन् । उनले ‘राजव्यक्ति’ (व्यक्ति पूजा वा पदको राजनीति) भन्दा माथि उठेर ‘राजनीति’ (नीति र सिद्धान्तको बहस) गर्न अपिल गरेका छन् ।
‘यो महाधिवेशन केवल पद बाँडफाँड वा व्यक्ति चयनको कार्यक्रममा सीमित हुने छैन भन्ने आशा गर्दछु,’ उनले भने, ‘व्यक्तिभन्दा विचारलाई, गुटभन्दा संस्थालाई, र पदभन्दा उद्देश्यलाई माथि राखेर निर्णय गर्नुहोस् ।’
प्रकाशित मिति: ७ असार २०८३, आइतबार













प्रतिक्रिया